arrow

डा केसी झन् गले, सरकारले बोलाएन उनी आएनन् 

logo
प्रकाशित २०७५ माघ १ मंगलबार
govinda-kc-ilam.jpg

काठमाडौं । गत पुस २५ गतेदेखि इलाममा आवरण अनशनरत सत्याग्रही प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । शरीरमा एकदमै बढी समस्या देखिएपछि सोमबार बिहान अस्पताल भर्ना गरिएका डा केसीलाई सघन उपचार कक्ष आइसियुमा राख्नु पर्ने भए पनि राख्न नसकिएको भन्दै इलाम जिल्ला स्वास्थ्य कार्यालयका असिस्टेन्ट सुपरिटेन्डेन्ट डा वीजेन्द्रकुमार शाहले बताएका छन् । 

मंगलबार बिहान गरिएको स्वास्थ्य परीक्षणमा डा केसीको स्वास्थ्य सोमबारको तुलनामा झन् खराव भएको छ । उनको स्वास्थ्यको एउटा इन्डिकेटर खस्केको डा शाहलाई उधृत गर्दै इलामबाट वरिष्ठ पत्रकार धर्म गौतमले भने । 

डा केसीलाई आइसीयुमै राखेर उपचार गर्नुको विकल्प नभए पनि सरकारले कुनै वास्ता नगर्दा स्वास्थ्य थप बिग्रिएको गौतमले बताए । 

उनको शारीरिक अवस्था एकदमै कमजोर बन्दै गएको, निमोनियोको सङ्क्रमण देखा परेको र मुटुको चालमा समेत समस्या देखिएको भन्दै चिकित्सकले तत्काल आइसियुमा भर्ना गर्न अनुरोध गरेका छन् । 

डा केसीको स्वास्थ्य जाँचमा खटिएका डा शाहले डा केसीको घाँटी र दायाँ फोक्सोमा संक्रमण देखिएको र स्वास्थ्य अवस्था कमजोर बन्दै गएकोले सामान्य अवस्थामा राख्न नमिल्ने बताए । 

सरकारले बोलाएन उनी आएनन्
डा केसीलाई आइसीयुमै राखेर उपचार गर्नुपर्छ भन्ने चिकित्सकहरुको बारम्बार अनुरोध आइरहँदा पनि केपी शर्मा ओली नेतृत्वको केन्द्रीय सरकारले केही सुनिरहेको छैन । आफ्नो क्षेत्रमा आएको सत्याग्रही बचाउनका लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पनि कुनै पहल चालेका छैनन् । 

इलाममा आइसीयु छैन तर डा केसीलाई केन्द्रसरकारले काठमाडौं झिकाएर उपचार गराउन पहल गरेको छैन । सरकारका मन्त्रीहरु एवं सत्ताधारी नेकपाका नेताहरु डा केसीलाई गलत ठहर्याइरहेका छन् । 

डा केसी भने सत्याग्रह छाडेर काठमाडौं आउन मानिरहेका छैनन् । पत्रकार गौतमले भने, ‘ज्यानभन्दा ठूलो केही हैन उपचार गर्न जानुस् भनेर हामीले पटक पटक भनेका छौं तर उहाँले मान्नुभएको छैन । सरकारले सहमति गर्छ अनि कार्यान्वयन गर्दैन म काठमाडौं जान्न भन्नुहुन्छ ।’

उनले अगाडि थपे, ‘अहिले त सरकारलाई माग पूरा गर्ने राम्रो अवसर छ । चिकित्सा शिक्षा विधेयक संसदमा छ । डा केसीका माग पूरा गर्दै विधेयक पारित गर्न सकिन्थ्यो । सरकारले टेरेन कि ।’

डा केसीले अव फेरि वार्ता नहुने र सीधै पूरा भएमात्र आमरण अनसन तोड्ने बताउँदै आएका छन् । मन्त्रिपरिषदले भने मागहरु पूरा भएको निष्कर्ष निकालिसकेको छ । 

यसअघि १५ पटकसम्म आमरण अनसन बसे पनि डा केसीका माग पूरा हुन सकेका छैनन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ