arrow

उपत्यकाको अदृश्य त्रिवेणी अग्निशालामा मकर मेला

ललितपुर कुमारीपाटी नजिकको अग्नीशालामा भक्तजनको भीड

logo
प्रकाशित २०७५ माघ १ मंगलबार
mage-lalitpur-trivedi.jpg

ललितपुर। माघे संक्रान्तिको दिन आज, पवित्र नदी, तलाउ, सागर तथा त्रिवेणीमा स्नान गरिन्छ। देवघाट, बहार क्षेत्र, रुरु क्षेत्र रिडी, त्रिशूली, कालीगण्डकी, पनौती, माइबेनी, वागमती, इन्द्रावती, कनकाई, त्रिवेणी लगायतका धार्मिक क्षेत्रमा आज माघ स्थान गर्ने भक्तजनको भीड लागेको छ। 

तर उपत्यकाभित्रको ललितपुर कुमारीपाटी नजिकको अग्निशाला पनि अर्को त्रिवेणी हो। जुन, अनौठो लाग्न सक्छ। चर्चामा नआएको अग्नीशाला त्रिवेणीमा मकर संक्रान्तिका दिन ठुलो मेला लाग्छ। ललितपुरको अग्नीशालामा मकर संक्रान्ति मेला भर्न उपत्यकाका विभिन्न स्थानबाट भिड लाग्ने गर्छ।

उपत्यकामा पञ्चकुण्ड भएको एकमात्रै स्थान अग्निशालामा बिहानैदेखि भक्तजनहरुले घ्यू, चाकु, तरुल पालुङ्गोको साग राखेर पूजा गर्न आउने भक्तजनको भिड लागेको छ। देवघाट र पनौतीको त्रिवेणी पुग्न नसक्नेहरु यहाँ त्रिवेणी धामका रुपमा आज पुजा गर्ने परम्परा छ। यद्यपी मुलुकका अन्य त्रिवेणी जस्तो अग्नीशालामा प्रत्यक्ष रुपमा नदीहरुको संगम छैन। यहाँ प्रत्यक्ष पानीमै नुहाएर माघ स्थान गर्न मिल्दैन।

ललितपुरको अग्निशालामा पनि त्रिवेणी भएका कारण आजका दिन मेला लाग्ने गरेको अग्नीशाला व्यवस्थापन समितिको दाबी छ। शंखमुलस्थित बाग्मती, नख्खुको प्रभावति र अग्नीशालामा रहेको बिष्णु कुण्डको जल एकैस्थानमा मिसिएको भन्दै परापूर्वकालदेखि अग्निशालामा आजका दिन त्रिवेणी मेला लाग्ने गरेको समितिले जनाएको छ। अग्नीशालाको गर्भगृह अग्नीमठमा बम्हकुण्ड, बिष्णुकुण्ड, रुद्रकुण्ड, सूर्यकुण्ड र सभ्यकुण्ड समेत गरी ५ वटा कुण्ड छन्। यी पाँच कुण्डसँगै नाग कलशको रुपमा मणिकुण्ड र सुकेको जलकुण्डका रुपमा समुन्द्र स्थापित गरिएका छन्।

ललितपुर महानगरपालिकाको वडा नम्बर १९ थबुस्थित अग्निशालामा, बिष्णुकुण्डको आगो अखण्डरुपमा शदियौंदेखि निरन्तर बलिरहेको छ। यो कुण्डमा भक्तजनहरुले ल्याएको घ्यू, जौ, तिल लगायतका विभिन्न नौ प्रकारका गेडागुडीको हवन गर्ने गरिन्छ। सूर्य उत्तरायण हुने मकर संक्रान्तिका दिन त्रिवेणीमा स्नान साथै दान गर्दा अक्षय फल प्राप्त हुने विश्वासका साथ त्रिवेणीमा मेला लाग्नेगर्छ। 
 

उपत्यकाको माघे संक्रान्ति 
उपत्यकाका रैथाने नेवार समुदायले आज माघे संक्रान्तिको दिन ‘घ्यूचाकु सल्हुँ’ पर्व मनाउँदैछन्। आजको दिन उनीहरु चाकुमा तिल मिसाएर लड्डु बनाई खाने र दान दिने गर्दछन्।

बिहानै उठेर स्नान गरी घर सरसफाई गर्ने, देवी देवताको पूजा गर्ने, चोखोनितो गरी विभिन्न परिकार तयार पार्नेगर्छन्। घरपरिवारका सबै सदस्य जम्मा भएर मिठामिठा परिकारको स्वादमा रमाउँदै, घाम ताप्दै एक आपसमा दुःखसुखका गफमा रमाउने र भजनकीर्तन गर्दै ‘घ्यूचाकु सल्हुँ’ पर्व मनाउने गर्दछन्। 
आजकै दिन भक्तपुरको टौमढी टोलमा तिलमाधव नारायणको मन्दिरमा मेला लाग्ने र दीपंकर बुद्धको पूजा हुने गर्दछ। तिलमाधव नारायणको मन्दिरमा चढाइएको घ्यू सन्तान नभएका महिलाले नुहाइधुवाइ शुद्ध भएर खाएमा सन्तान प्राप्ति हुने विश्वास गरिन्छ। माघे संक्रान्तिको दिन नारायणको मूर्तिभरि घ्यू  दलेर तिल चढाउने र चढाइएको घ्यू–तिल चार दिनपछि झिकेर मन्दिरमा आउने भक्तजनलाई प्रसादका रूपमा वितरण गर्ने परम्परा छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ