arrow

सम्पदास्थलमा चारपाङ्ग्रे सवारीसाधनको प्रवेशमा रोक

logo
प्रकाशित २०७५ माघ १ मंगलबार
bhaktapur1.jpg

भक्तपुर । भक्तपुर नगरपालिकाले सम्पदास्थलमा आजदेखि चार पाङ्ग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाएको छ ।  विश्व सम्पदा सूचीमा सूचीकृत पाँचतले मन्दिर परिसरमा आजदेखि चारपाङ्ग्रे सवारी प्रवेशमा रोक लगाएको नगरपालिकाका प्रमुख सुनील प्रजापतिले जानकारी दिए।

नगरप्रमुख प्रजापतिले आज सिक्रीमा ताला लगाएर चारपाङ्ग्रे सवारी रोक्न औपचारिक शुरुआत गर्नुभएको हो । सवारीसाधन रोक्नका लागि पूर्वमा साकोठा जाने चोक र पश्चिममा गःहिटी जाने बाटोमा सिक्री लगाइएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदास्थलको अवलोकनमा आउने पर्यटकलाई सवारीसाधनको अव्यवस्थित पार्किङ, अनावश्यक भीड र हर्न बजाउने, जथाभावी सवारी आवतजावतले बाधा पुर्‍याएको तथा पर्यटकलाई तस्बीर लिनसमेत समस्या परेको गुनासो बढेपछि नगरपालिकाले चारपाङ्ग्रे सवारी प्रवेशमा रोक लगाएको हो ।

नगरप्रमुख प्रजापतिले विश्व सम्पदास्थलको संरक्षण गर्न भक्तपुर घुम्न आउने पर्यटकलाई बाधा नपुगोस् भनेर सवारी प्रवेशमा रोक लगाएको बताउनुभयो । सवारीसाधनको कम्पनले पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको संरक्षणमा बाधा पुगेपछि नगरपालिकाले सम्पदाको संरक्षणलाई समेत ध्यान दिँदै सवारी प्रवेशमा रोक लगाएको हो ।

पाँचतल्ले मन्दिरको पूर्वमा क्वाछें, पश्चिममा स्वपुंग भैरव, उत्तरमा चतुब्रह्म महाविहारको पूर्वी बाटो र दक्षिणमा तीलमाधव नारायण मन्दिरको पूर्वी ढोकायताको चार किलाभित्र बिहान ७ देखि बजेदेखि बेलुका ७ बजेसम्मलाई चारपाङ्ग्रे सवारीसाधन प्रवेशमा निषेध गरिएको नगरप्रमुख प्रजापतिले बताउनुभयो ।

नगरपालिकाले अत्यावश्यक सवारीसाधन एम्बुलेन्स, शववाहन, दमकललगायत साधनलाई भने सञ्चालनमा रोक लगाएको छैन । यसअघि नगरपालिकाले भक्तपुर दरबार क्षेत्रभित्र दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधन निषेध गरेको थियो । स्थानीय जनताको सल्लाह र सुझाव लिएर अन्य सम्पदास्थलम समेत सवारी प्रवेश रोक लगाउन सकिने उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ