arrow

गोविन्द केसीको समाचार लेख्दा पत्रकार धम्क्याए बीएण्डसीका संचालक प्रसाईँले

प्रसाईँलाई कार्वाही गर्न पत्रकार महासंघ र प्रेस युनियनको माग

logo
प्रकाशित २०७५ माघ २ बुधबार
durga-prasai.jpg

इलाम । इलाममा अनसनरत सत्याग्रही प्राडा गोविन्द केसीको समाचार लेखेकोप्रति बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईँले पत्रकारलाई धम्की दिएका छन् । गोविन्द केसीका माग पूरा हुँदा आफूलाई असर पर्ने भएपछि उनले पत्रकारलाई धम्क्याएका हुन् । 

पूर्वाधार नपुगीकनै अस्पताल संचालन गर्न नपाउने लगायतका विषय समेटेर डा केसी १६ औं चरणको आमरण अनसनमा छन् ।

सोही समाचारलाई प्राथमिकता दिएर समाचार बनाएपछि असन्तुष्ट प्रसाईँले  कान्तिपुर दैनिकका संवाददाता तथा नेपाल प्रेस युनियन इलामका अध्यक्ष विप्लब भट्टराईलगायतका पत्रकारलाई धम्काएका हुन् । 

बीएण्डसी अस्पतालका तर्फबाट डा केसीलाई भेट्न आएका चैतन्य मैनालीका बारेमा पत्रकारले टेलिफोनमार्फत सञ्चालक प्रसाईंसँग बुझ्न खोज्दा अपशब्द बोल्दै अपमान गरेको बताइएको छ ।

विप्लव भट्टराई यसो भन्छन् –‘डा केसीको मुद्धाहरु उठाउँदा उनीहरुलाई असर पर्ने भएपछि समाचार लेखेबापत थर्काइएको हो । उनीहरुको भनाइमा अर्को अनसन बसेको नलेख्ने अनि केसीका कुरामात्रै लेख्ने भनेर धम्काइएको हो ।’

पत्रकार धम्क्याएकोप्रति नेपाल पत्रकार महासंघ इलाम र प्रेस युनियन इलाम शाखाले प्रेस विज्ञप्ति निकाल्दै आपत्ति प्रकट गरेको छ । महासंघ र युनियनले पत्रकार धम्क्याउने प्रसाईँलाई कार्वाहीको माग गरेको छ । 

महासंघकी अध्यक्ष कोकिला ढकाल र युनियन सचिव टीका खतिवडाद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रसाईँको अभिव्यक्ति प्रेसमाथि धावा बोलेको उल्लेख गरिएको छ । 

पत्रकारमाथि गरिएको हर्कतप्रति प्रसाईँलाई कारबाही गर्न प्रशासनसँग माग गरिएको छ ।

बीएण्डसी अस्पताल बचाउने नाममा प्रसाईँले पटक पटक संचारकर्मीमाथि अपशब्द बोल्नेमात्र होइन धम्क्याउने काम गरेका छन् । 

उनकै लहलहैमा लागेर तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले पदबाटै हात धुनुपरेको थियो । बंगलादेशमा नेपाली महिला विद्यार्थीले डिग्री ल्याउन यौन सम्झौता गर्नुपर्ने आरोप तामाङले लगाएका थिए । त्यो भाषा प्रसाईँकै रहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ