arrow

 प्रचण्डले समय नदिएर अपमान गरेपछि

logo
प्रकाशित २०७५ माघ ३ बिहिबार
prachanda-ccm-768x480.jpg

हेटौँडा । मकवानपुरको बाग्मती गाउँपालिका वडा नम्बर ४ झुरझुरेमा निर्माण हुन लागेको सहिद पार्क स्थलमा तत्कालिन जनयुद्धका नेतृत्वकर्ता एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने भएपछि स्थानीय बासिन्दा कुरेर बसेका थिए । 

तत्कालिन नेकपा माओवादी र तत्कालिन सरकारी सुरक्षकर्मीबीच भएको भिडन्त स्थलमा निर्माण हुन लागेको पार्कको बुधबार मध्यान्ह १२ बजे प्रचण्डले उद्घाटन गर्ने उत्साहमा धेरै जना प्रतिक्षरत थिए । 

तत्कालिन माओवादीका कार्यकर्तादेखि झुरझुरेका सर्वसाधारण झुरझुरे बजार केही माथिको पार्क निर्माणस्थल पुगेर तयारीका साथ प्रचण्डको स्वागतमा बसिरहेका थिए । प्रचण्ड झुरझुरे पारीको खहरेमा आउँदासम्म पार्क उद्घाटनस्थलमा बाक्लो संख्यामा सर्वसाधारण पुगेका थिए । 

करिब १ बजेतिर झुरझुरे पुगेका प्रचण्ड पार्क निर्माण स्थलमा शिलान्यासका लागि तयार पारेको स्थानमा गएनन् । ५ मिनेटको उकालोमा पुगिने उद्घाटनस्थलमा प्रचण्ड नआउने खबर आएपछि सर्वसाधारण निरास हुँदै तल झरे । 

तल झरिरहेकाहरु प्रचण्ड मूख्य भिडन्तस्थल नपुगेकोमा गुनासो गर्दै थिए । २८ जना माओवादी नेता कार्यकर्ताले ज्यान गुमाएको स्थानमा किन नआएका होला भन्दै प्रश्न गर्नेहरु समेत थिए । केहीले भने प्रचण्डले आफ्नो कार्यकर्ताको बलिदानको अवमूल्यन गरेको भन्दै तल झर्दै थिए । 

तल गाउँपालिका भवन उद्घाटनपछि मन्तव्य व्यक्त गर्दै प्रचण्डले त्यहीबाट पार्कको शिलान्यास भएको घोषणा गरे । शिलान्यास भएको घोषणा गर्दै दाहालले समय अभावका कारण आफु त्यहाँ पुग्न नसकेको भन्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

२०६२ साल माघ ८ गते राती भएको भिडन्तका क्रममा स्थानीय मानबहादुर बज्यु र प्रताप बज्यु, २८ माओवादी नेता कार्यकर्ता र सुरक्षाकर्मी गरी ठूलो संख्यामा ज्यानमा गएको थियो ।

 त्यही भिडन्त स्थलमा सहिद स्तम्भ, भ्युटावर, पिकनिक स्थल, पैदल मार्गसहितको पार्क निर्माण गर्न लागेको सहिद पार्क निर्माण तथा ब्यवस्थापन समितिका अध्यक्ष हस्तबहादुर थिङले बताए । उनका अनुसार यसका लागि बाग्मती गाउँपालिकाले २० लाख रुपैँया विनियोजित गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ