arrow

प्रधानमन्त्री ओलीले संसदमा सांसदका जवाफ दिँदै, प्रश्न पहिल्यै टिपाउनु पर्ने 

logo
प्रकाशित २०७५ माघ ४ शुक्रबार
oli-samsad.JPG

काठमाडौं । आलटालको दश महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिने भएका छन् । 

कार्य व्यवस्था समितिको बिहीबार बसेको बैठकले प्रधानमन्त्रीसँग सांसदले प्रश्न गर्न पाउने व्यवस्था गरेको हो । प्रतिनिधिसभा नियमावली, २०७५,को परिच्छेद ९ मा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ को खण्ड राखिएको छ ।

संसद्को बैठक सुरु भएको अबको ४६ दिनपछि १ वर्ष पुग्नेछ तर अहिलेसम्म यो अभ्यास सुरु भएको थिएन । संसद् बैठक बसेको केही पछिमात्र यो नियमावली बनाइएको हो । 

संसद्को पहिलो बैठक २०७४ फागुन २१ गते बसेको थियो । यसअघि पुस ३० गते सोमबार संसद्को बैठक बसेको थियो । माघको पहिलो बैठक शुक्रबार मध्यान्ह १२ बजे बस्न लागेको हो ।

बैठकअघि नै प्रश्न 
बैठक सुरु हुनुभन्दा १ घण्टाअघि नै प्रश्न टिपाउनुपर्ने छ । सभामुखको अनुमति लिई सांसद्ले आफ्नै ठाउँबाट प्रश्न गर्नुपर्नेछ । एक दिनमा १० जना सांसदले मात्र प्रश्न सोध्न पाउने छन् । 

प्रधानमन्त्रीको सट्टा अरु कुनै मन्त्रीले जवाफ दिन पनि मिल्ने व्यवस्था छ । संविधान वा कुनै प्रचलित कानुनबाट प्रकाशन निषेध गरिएको विषय, चालु अधिवेशनमा छलफल भई स्पष्ट भइसकेको विषय, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रचारका लागि कुनै व्यक्ति वा संस्थाको नाम भएको विषय, गैर सरकारी व्यक्तिको कुनै वक्तव्य सत्य हो वा होइन भन्ने लगायतका केही विषयमा प्रश्न गर्न नपाइने व्यवस्था छ । नियमावलीको नियम ४९ मा ‘प्रश्न गर्न नपाइने विषय’ किटान गरिएको छ ।

गत पुस २२ गते प्रधानमन्त्री ओलीले दिएको ‘सार्वजनिक महत्वको बक्तव्य’बारे चित्त नबुझेपछि नेपाली कांग्रेसका सांसदहरुले प्रश्न गर्न पाउनुपर्छ भन्ने माग राख्दा सदन नै अवरोध भएको थियो । 

नियमावलीको नियम २१९ मा रहेको व्यवस्थाअनुसार नै प्रश्न गर्ने कांग्रेसी सांसदहरुको भावनामाथि सभामुख कृष्णबहादुर महराले हस्तक्षेप गरेपछि बैठकमा कांग्रेसले ‘रोस्टर्म’ घेरेको थियो । 

संसद अगाडि बढ्न नसक्ने देखिएपछि त्यसैदिन १५ मिनेटका लागि भनेर स्थगित बैठक सूचना टाँसेर स्थगित भएको थियो । त्यसको ४ दिनपछि बसेको बैठकमा सभामुखले सरकारलाई जवाफ दिन निर्देशन दिएपछि काँग्रेसले बैठक चल्न दिएको थियो ।

हुन त प्रधानमन्त्रीको निर्देशनमा सभामुख चलेको भन्दै कांग्रेस सांसदहरुले आपत्ति जनाउँदै आएका छन् । सभामुख पनि फितलो रुपले अगाडि बढिरहेका छन् । 

गत पुसमै उनले प्रधानमन्त्रीको निर्देशनमा जेलमा रहेका राजपाका सांसद रेशमलाल चौधरीको सपथ गराएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ