arrow

अत्याधुनिक ‘मौसमी राडार’ सञ्चालनमा आउन सकेन

logo
प्रकाशित २०७५ माघ ४ शुक्रबार
wether-rader.jpg

सुर्खेत । जनशक्ति अभावका कारण अत्याधुनिक प्रविधिको मौसमको पूर्वसूचना दिने राडार सञ्चालनमा आउन सकेको छैन । विश्व बैंकको सहयोगमा जल तथा मौसम विज्ञान विभागले वीरेन्द्रनगर–१४ स्थित रातानाङला डाँडामा नेपालमै पहिलो मौसमी राडार स्थापना गरिएको हो । नमूनाका रूपमा नेपालमा पहिलोपटक निर्माण गरिएको सो अत्याधुनिक प्रविधिको राडारमा पर्दछ । राडार ११७ फिट अग्लो छ ।

जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयले सङ्घीय संरचनाअनुसार वीरेन्द्रनगरमा रहेको मध्य तथा सुदूरपश्चिम क्षेत्रीय हावापानी कार्यालयलाई कोहलपुर सारेपछि राडारको भविष्य पनि अन्यौलमा परेको बताइएको छ । मौसमविद्का अनुसार राडारले वर्षा, वर्षाको प्रकार तथा तीव्रता, वायु प्रणालीको बहाव, बादलको अवस्था, चक्रवातको बहिर्भावको स्थिति, असिना, हिउँ, चट्याङ, बाढीलगायत जोखिमको पूर्वानुमान गर्नेछ ।

अमेरिकी कम्पनी इन्टरप्राइज इलेक्ट्रोनिक को–अपरेशनले विश्व बैंकको रु १७ करोड लागतमा नेपालको मौसम तथा जलसम्बन्धी अवलोकन कार्य प्रर्णालीलाई अत्याधुनिक एवं सुविधासम्पन्न बनाउन राडार स्थापना गरेको हो । राडारले प्रदेश पाँच, कर्णाली र सुदूपश्चिम प्रदेशको ३०० किलोमिटर दूरीसम्मको मौसमको पूर्वअवस्था बारे जानकारी दिनेछ । कम्पनीका नेपाल साझेदार स्टक–टू काठमाडौँका प्रतिनिधि ईश्वर गिरीले कर्मचारी र सुरक्षाको अभाव रहेको गुनासो पोखे।

नेपाल सरकारले दक्ष जनशक्ति र कार्यालयको व्यवस्थापनमा ढिलाइ गर्दा हाल निर्माण कम्पनीले नै अमेरिकामा मौसमी सूचना सङ्कलन गरिरहेको छ । दक्ष जनशक्तिसहित कम्तीमा ११ कर्मचारी आवश्यक पर्ने मौसमविद् बताउँछन् ।

विभागले अहिलेसम्म राडारको मुख्य केन्द्र कहाँ राख्ने टुङ्गो लगाउन सकेको छैन । जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक समेत रहनुभएका मन्त्रालयका सहसचिव डा ऋषिराम शर्मा महँगा उपकरण र अत्याधुनिक प्रविधि जडान गरिएकाले यसको सदुपयोगका लागि ढिलाइ गर्न नहुने बताए।

राडारले दिने सूचना छिटो ग्रहण गर्न कोहलपुरभन्दा सुर्खेतमै कार्यालय राख्न उपयुक्त हुने उहाँको भनाइ छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) का प्राज्ञ डा मदनलाल श्रेष्ठ राडारबाट हवाई दुर्घटना न्यूनीकरणमा समेत मद्दत पुग्ने बताउछन्।

“मौसमसम्बन्धी सम्पूर्ण गतिविधि राडारले दिन्छ नै, हवाई दुर्घटना रोक्न पनि यसको महत्व उत्तिकै छ”, डा श्रेष्ठले भने, “उदाहरणका लागि जुम्ला र सुर्खेतमा मौसम सफा छ, तर हवाई मार्गका बीचमा के–कस्तो मौसम छ भन्नेबारे विमानस्थलको टावरलाई थाहा हुँदैन, यस्तो अवस्थामा सूचना लिने यही राडारबाट हो, यसले हवाई मार्गका बीचमा कहाँ कति बादल छ ? वा वर्षा के भइरहेको छ ? भन्ने स्पष्ट जानकारी दिन्छ ।”

सरकारले उदयपुरको उदयपुरगढी र पाल्पाको रिब्दिकोटमा पनि यस्तै प्रकारको मौसमी राडार राख्ने प्रक्रिया अघि बढाइसकेको छ । यहाँ निर्माण गरिएको राडार समुन्द्री सतहबाट दुई हजार २४४ मिटर उचाइमा अवस्थित छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ