२२ दिनसम्मको अनसनले नराम्ररी थलिए डा केसी, सुशीला कार्की अनसनस्थलमा, डाक्टरहरुको रिले अनसन बुधबार पनि
अहिलेसम्म सरकारी तबरबाट डा केसीको अनसन तोडाउन भएन कुनै पहल
हाम्रा कुरा
प्रकाशित २०७५ माघ १६ बुधबार
593
Shares
काठमाडौं । आमरण अनसन बसेको २२ दिन भइसक्दासम्म सत्याग्रही डा गोविन्द केसीको स्वास्थ्य निकै खस्केको छ । केसी पुस २५ देखि आमरण अनसनमा छन् ।
त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा केसीलाई कुनै पनि बेला आइसीयुमा लैजानुपर्ने चिकित्सकहरुले बताइरहँदा बोल्न पनि नसक्ने भइसकेका डा केसी मानिरहेका छैनन् भने सरकारले उनलाई पुरै बेवास्ता गरेको छ ।
उनको मागको सुनुवाइ त परै जावस् सरकारले उनलाई बचाउनेतर्फ पनि कुनै कदम चालेको छैन ।
चिकित्सा शिक्षा विधेयक ल्याउँदा उनको माग र उनीसंग गरेको सहमति विपरीत ल्याइएको छ ।
डा केसीको मागमा ऐक्यवद्धता जनाउँदै देशभरमा चिकित्सकले सोमबार र मंगलबार रिले अनसन बसे पनि सरकारलाई कुनै तातो लागेको छैन ।
बुधबार पनि चिकित्सकहरुले रिले अनसनलाई जारी राख्ने नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘दुई दिनसम्म रिले अनसन बसे पनि कुनै सुनुवाई भएन आज पनि बस्दैछौं आजै हामीले थप सशक्त कार्यक्रमका लागि छलफल गर्छौं ।’
रिले अनसन बसे पनि सर्वसाधारणलाई दिने सुविधामा कुनै असर नपुगेको संघले जनाएको छ ।
ऐक्यवद्धता कायमै
डा केसीको मागमा नागरिक समाजले ऐक्यवद्धता जनाउने क्रम जारी छ । मंगलबार पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ डा केसीलाई भेट्न अनसनस्थल गएका थिए ।
उनले मन्तब्य पनि दिएका थिए । उनले मन्तब्यमा डा केसीलाई बचाउनु पर्ने र उनका माग पूरा गर्नुपर्नेमा जोड दिएका थिए ।
बुधबार पूर्व प्रधानन्यायाधीश सुशीला कार्की जाने कार्यक्रम रहेको छ । कार्की दिउँसो १ बजे अनसनस्थल पुग्नेछिन् । उनले मन्तब्य राख्ने कार्यक्रम समेत रहेको जानकारी गराइएको छ ।
नागरिक समाजबाट व्याप्त दबाब भए पनि सरकारले डा केसीका बारेमा ध्यान दिएको छैन ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद नै अवरोध गरेको थियो भने भ्रातृ संगठनहरु निरन्तर सडकमा छन् ।
त्यसैगरी विवेकशील नेपाली दलले पनि डा केसीको माग पूरा गर्न दवाव दिँदै सामूहिक गिरफ्तारी समेत दिएको थियो ।