चीन र भारतसँग सीमा जोडिएका २१ स्थानमा सशस्त्र प्रहरी
प्रकाशित २०७५ माघ २१ सोमबार
869
Shares
पाँचथर । प्रदेश नं १ को चीन र भारतसँग सीमा जोडिएका २१ स्थानमा सुरक्षाका लागि सशस्त्र प्रहरी राखिने भएको छ । उक्त प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले पाँचथरको उत्तरपूर्वी क्षेत्र चिवाभञ्ज्याङको सीमा क्षेत्र अवलोकनका क्रममा सो कुरा बताएका हुन् ।
उनले सीमामा हुने आपराधिक गतिविधि र चोरी निकासी कम गर्न भारत र चीनसँग जोडिएका सीमामा सशस्त्र प्रहरी राख्न रु १७ करोड ५० लाख बजेट छुट्याइसकेको जानकारी दिए।
भर्खरै बसेको प्रदेश नं १ को मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरी पोष्ट राख्न सम्बन्धित निकायलाई अख्तियारी समेत दिएको र यसबाट सीमा क्षेत्रका नागरिकको सुरक्षाका साथै वन्यजन्तु तथा जटिबुटी चोरी निकासी रोक्न सहयोग पुग्ने मन्त्री आङ्बोले बताए। सीमा क्षेत्रमा समस्या भए त्यसलाई राजनीतिक विषय बनाउन नहुने तर समस्या देखिए दुबै देशका प्रतिनिधि बसेर समस्या समाधान गरिने उनको भनाइ थियो ।