arrow

योगेशले उद्घाटन गरेको छाया सेन्टरको विवाद चर्किँदै, पोखरी हडपेर कम्प्लेक्स बनाएको आरोप 

logo
प्रकाशित २०७५ फागुन ८ बुधबार
chaya_centar.jpg

काठमाडौँ । सार्वजनिक पोखरी हडपेर गगनचुम्बी महल बनाइको आरोप लागेको काठमाडौं ठमेलको छाया सेन्टरले मंगलबार एउटा पत्रकार सम्मेलन गरेर यो आरोपको खण्डन गर्ने प्रयास गरेको छ । करिब १३ रोपनी जग्गा भूमाफियाले अतिक्रमण गरी व्यापारिक भवन निर्माण गरेको भन्दै नेवाः राजनीतिक अभियानले संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिलाई गुहारेको यसको विवाद छताछुल्ल भएको हो । यो सेन्टरको गत पुष ११ गते नेकपाका नेता योगेश भट्टराईले उद्घाटन गरेका थिए ।

२०३३ सालमा सहरी क्षेत्रको नापी हुँदा उक्त पोखरीको क्षेत्रफल १२ रोपनी  १३ आना २ पैसा २ दाम रहेको मालपोत कार्यालयको रेकर्डमा उल्लेख छ । २०३९ सालको भूमिसुधार मन्त्रालयको जग्गाधनीपुर्जामा जग्गाधनी ‘सिंह सार्थबाहु गुठी’ लेखिएको छ भने गुठी संस्थानमा रहेको २०४२ सालको फिल्ड बुकमा पनि पोखरी नै उल्लेख रहेको पाइन्छ। यो विषय सर्वाेच्च अदालतमा मुद्दा विचाराधीन रहेको बेलामा विभिन्न व्यवसायीहरु मिलेर बनाएको सो भवनको विवाद भवन निर्माण भईसक्दा पनि अझै विवादित नै छ । त्यसैलाई चोख्याउनको लागि गरिएको पत्रकार सम्मेलन गरेकै भरमा उसलाई निर्दोष मानेर उन्मुक्ति दिन नमिल्ने स्थानीयहरु बताउँछन् ।

करीब ३० व्यवसायीको रु पाँच अर्बभन्दा बढी लगानी रहेको सो भवनलाई स्थानीयवासीले आक्रमणको निशाना बनाएको सेन्टरका सञ्चालकको आरोप छ । ठमेलभित्रको ठूलो परियोजना सरकारी निकायले पूरा गर्नुपर्ने भन्दै सबै प्रक्रिया सकेर निर्माण गरिएको छाया सेन्टरलाई स्थानीयवासीले अनर्गल प्रचार गरी आक्रमणको निशाना बनाएको सेन्टरका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठले बताए। 

पर्यटकीय व्यावसायिक गन्तव्यका रुपमा छाया सेन्टर सञ्चालनमा ल्याइएको सो कम्प्लेक्समा तारे स्तरको होटलसहित तीन मल्टिप्लेक्स थिएटर छन् । उक्त सेन्टरमा विभिन्न सामग्रीका पसल, एयरलाइन्सका शाखा कार्यालय, ट्राभल एजेन्सी, ब्याङ्क्वेट हल, सेमिनार हल, रिसेप्सन हल, रेस्टुरेन्ट, क्लब लगायतका सुविधा उपलब्ध छ । विभिन्न बैंकका कर्पोरेट शाखा कम्पनीका कर्पोरेट कार्यालय छाया सेन्टरमा खुल्न थालेका छन् । 

सरकारले वैदेशिक लगानी भित्र्याउन आगामी चैत १५ र १६ गते काठमाडौँमा नेपाल लगानी सम्मेलन गर्ने तयारी गरिरहेको सन्दर्भमा यस्ता व्यावसायिक लगानीलाई निरुत्साहित गरिनु गम्भीर विषय भएको व्यवसायीको भनाइ छ । “ठमेलभित्रको ठमेलका रुपमा आएको योजनामा केही व्यक्तिको स्वार्थले अहिले गलत प्रचारलाई गरिएको छ । पैसा तिरी जग्गा किनेर पनि योजना अघि बढाउन नदिने षडयन्त्र हुँदैछ”, श्रेष्ठले भने । काठमाडौँ महानगरपालिकाले २०६९ साल असोज ११ गते छायादेवी कम्प्लेक्सको डिपिसीसम्मको नक्सा पास गरेको थियो । सोही वर्ष असोज ३१ गते महानगरपालिकाले कम्प्लेक्सलाई स्थायी नक्सापास गरिदिएको थियो । गत कात्तिक ८ गते कामनपाले छायादेवी कम्प्लेक्सलाई भवन निर्माण सम्पन्नको प्रमाणपत्र उपलब्ध गराएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ