पूर्वखोला सिलुवाका स्थानीयले लिए शिविरबाटै स्वास्थ्य सेवा
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ फागुन १९ आइतबार
620
Shares
पाल्पा । पूर्वखोला गाउँपालिका १ सिलुवाका जनताले गाउँमै स्वास्थ्य परीक्षण गराएका छन् । गोरखदल गणका सेनानी मनोज डंगोलको नेतृत्वमा गएको गण मेडिकल टोली, स्थानीय डाक्टर तथा नेपाल परिवार नियोजन संघ पाल्पा सहितको मेडिकल टोलिले गाउँपालिकाको समन्वयमा विरामीको निशुल्क स्वास्थ्य परीक्षण गरेका हुन् ।
एक दिने स्वास्थ्य शिविरमा । जेष्ठ नागरिक ८७ वर्षीय गोविन्द प्रसपाद श्रेष्ठ, ८० वर्षीया पवित्रा सारु सहित ४ सय २१ जनाले सेवा लिएका छन् । स्वास्थ्य परीक्षणका लागि जिल्ला सदरमुकाम वा नजिकैको स्वास्थ्य चौकीमा जानुपर्ने बाध्यता खेप्दै आएका यस क्षेत्रका स्थानीयहरु गाउँमै स्वास्थ्य परिक्षण गराउन पाउँदा खुसी भएका थिए ।
शिविरमा ३ सय ६८ महिला, ४७ पुरुष र ६ जना बालवालिकाले स्वास्थ्य परीक्षण गराएको गोरखदल गण पाल्पाले जनाएको छ । शिविरमा सुगर, प्रेसर, हाडजोर्नी,छाला र गाईनो सम्बन्धीका विरामीहरुको निशुल्क चेकजाँच गर्नुको साथै औषधी समेत वितरण गरिएको थियो । निशुल्क रुपमा गाउँमै चेकजाँच गराउन पाए पछि स्थानीयहरु खुसी भएका थिए ।
शिविरमा कार्यक्रममा आधारभूत स्वास्थ्य सेवाको पहुँज जनस्तर सम्म पुर्याउन गाउँपालिकाले विभिन्न संघसस्थाहरुसँग समन्वय गर्दै आएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिए । उनले स्थानीय स्तरमा सञ्चालन हुने यस्ता खालका शिविरहरुबाट लाभ लिन स्थानीयहरुलाई आग्रह गरे । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्तले अधारभूत स्वास्थ्य उपचारका अभावमा कोही पनि तड्पिन नपर्ने बताए ।
गोरखदल गण पाल्पाका मेजर मनोज डंगोलले सेनाले जिल्लाका विभिन्न क्षेत्रमा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी दिए । उनले विरामीहरुलाई खुलेर आफ्ना समस्या डाक्टरहरुसँग राख्न आग्रह गरे । शिविरमा डा. झपेन्द ढकाल विजय के सी , नेपाल परिवार नियोजन संघका शाखा प्रवन्धक शोभाकान्त न्यौपाने, कल्पना न्यौपाने, भगवती न्यौपाने, देबदह स्वास्थ्य चौकी प्रमुख रेमबहादुर दिशा, रमेश ढकाल कालिगण्डकी दन्त उपाचार केन्द्रका प्रमुख रमेश न्यौपानेले बिरामीको जाँच गर्नुका साथै परामर्श दिएका थिए ।
नेपाली सेना गोरखदल गणले सेना दिवसको अवसरमा सिलुवामा रहेको जनमार्ग माविका ४ सय ५० जना विद्यार्थीहरुलाई बिष्फोटक पदार्थ सम्बन्धी जनचेतना मुलक कक्षा समेत सञ्चालन गरेको थियो ।