arrow

भाइरल ज्वरोले ५० विद्यार्थी बिरामी

logo
रासस,
प्रकाशित २०७५ फागुन २३ बिहिबार
viral-influenza.jpg

दमौली। तनहुँको घिरिङ गाउँपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयका ५० बढी विद्यार्थी भाइरल ज्वरोले बिरामी परेका छन्। विद्यालयमा अध्ययनरत विभिन्न कक्षाका ५० भन्दा बढी विद्यार्थी भाइरल ज्वरोले बिरामी परेका हुन्। सोमबारदेखि विद्यार्थीमा टाउको दुख्ने, घाँटी दुख्नेलगायतका समस्या देखापरेको विद्यालयका प्रधानाध्यापक प्रेम थापाले जानकारी दिए। उनका अनुसार विद्यालयमा कक्षा ६, ७, ८, ९ र १० मा अध्ययन गर्ने विद्यार्थी भाइरल ज्वरोबाट पीडित भएका हुन्। सबैभन्दा बढी कक्षा १० मा अध्ययनरत १५ विद्यार्थी भाइरल ज्वरोबाट बिरामी परेका छन्।

त्यस्तै कक्षा ९ मा अध्ययन गर्ने सात र ६, ७ र ८ का समेत विद्यार्थी ज्वरोबाट पीडित भएको उनले जानकारी दिए। उनले भने, “सबै कक्षाका गरी ५० भन्दा बढी विद्यार्थीलाई यो समस्या देखिएको छ।” उनका अनुसार बुधबार पनि कक्षा ४ र ५ का दुई/तीन विद्यार्थीमा भाइरल ज्वरोको प्रकोप देखिएको छ। कक्षा १० का बिरामी हुने सबै विद्यार्थी विद्यालयकै होस्टेलमा बस्ने विद्यार्थी हुन्। होस्टेलमा बस्ने विद्यार्थीमा एउटालाई ज्वरो आएपछि अर्को विद्यार्थीलाई पनि सोही समस्या देखिएको थापाले जानकारी दिए। उनले भने, “एउटा विद्यार्थीबाट अरु विद्यार्थीमा ज्वरो फैलिएको हुन सक्छ।”

उनका अनुसार बिरामी भएका सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गराइएको छ। सोही वडामा रहेको घिरिङ स्वास्थ्यचौकी र स्थानीय मेडिकलमा बिरामीको उपचार गराइएको छ। बिरामी भएका सबै विद्यार्थीलाई परिवारको रेखदेखमा जिम्मा लगाई उपचार भइरहेको विद्यालयले जनाएको छ।

घिरिङ स्वास्थ्यचौकीका स्टाफ नर्स प्रतिमा अधिकारीले विद्यार्थीमा देखिएको समस्या भाइरल ज्वरो र इन्फ्लुएन्जा भएको जानकारी दिइन। उनले भनिन्, “यस्तो समस्या देखिएका विद्यार्थीलाई स्वास्थ्यचौकीबाटै उपचार सेवा दिएका छौँ।”

उनका अनुसार मङ्गलबार ४० विद्यार्थीलाई स्वास्थ्यचौकीबाट उपचार गरिएको थियो। हालसम्म स्वास्थ्यचौकीमा भएका औषधीले नै विद्यार्थीको उपचार भइरहेको जानकारी दिँदै उनले औषधी अपुग भए गाउँपालिकाको स्वास्थ्य शाखासँग माग गर्ने तयारी भएको बताइन्। विद्यार्थीमा यस्तो समस्या भइरहे विद्यालयमै पुगेर उपचार सेवा प्रदान गरिने अधिकारीले बताइन्।

फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादी सात वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा व्यास नगरपालिका–४ बाघभञ्ज्याङका ३२ वर्षीय सुकबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

विसं २०६८ साउन ९ गते सोही ठाउँ बस्ने रामबहादुर परियारको हत्यामा संलग्न रहेको अभियोगमा फरार रहेका परियारलाई बुधबार दिउँसो उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। सोही ठाउँ बस्ने भारु भन्ने भारती परियारको योजनामा सुकबहादुर परियार र मङ्गलबहादुर दमैले दुलेगौँडा र ढोरफिर्दी जोड्ने सेती नदीको पुलबाट धकेली रामबहादुरको हत्या गरेको अभियोगमा परियार प्रहरीको फरार सूचीमा थिए।

पक्राउ परेका निजलाई बुधबार नै तनहुँ जिल्ला अदालतमा कारवाहीको लागि पेश गरिएको प्रहरीले जनाएको छ। सोही वारदातमा संलग्न रहेका प्रतिवादी भारु भन्ने भारती परियार र मङ्गलबहादुर दमै माघ २४ गते तनहुँ जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा गइसकेका छन्।

विसं २०६८ साउन ९ गते भारतीको योजनामा मङ्गल र सुकबहादुरले रामबहादुरलाई शुक्लागण्डकीको दुलेगौँडास्थित सेती नदीको पुलबाट धकेलेर हत्या गरेको अनुसन्धानबाट खुलेको थियो।

लागुऔषधसहित एक पक्राउ

तनहुँको आँबुखैरेनी गाउँपालिका–३ बाट लागुऔषधसहित एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा बागलुङ जैमिनी नगरपालिका–८ का १८ वर्षीय रमेश पुन रहेको प्रहरीले जनाएको छ। आँबुखैरेनीचोकमा शङ्कास्पदरूपमा हिँडेका पुनको साथबाट प्रहरीले फेनरागन ५४, डाइजेपाम ५४ र नुफिन ५४ थान गरी १६२ थान लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। पक्राउ परेका निजविरुद्ध बुधबार तनहुँ अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ