arrow

संसारमै पित्तथैली र प्याङक्रियाजको क्यान्सर अन्तिम अबस्थामा मात्रै पहिचान

मलद्धारको क्यान्सर कम उमेरकामा बढी, ग्याष्ट्रिक र आमाशय क्यान्सर गराउने एकै किटाणु

logo
प्रकाशित २०७५ फागुन २४ शुक्रबार
pankreas-human-body.jpg

काठमाडौं। पेटको क्यान्सर भन्नाले पेट भित्र रहेका बिभिन्न अंगमा हुने क्यान्सर भन्ने बुझिन्छ जस्तै, पित्तथैली, कलेजो, आमाशय, ठुलो आन्द्रा र सानो आन्द्रा लगायतका हुन्। पुरुषमा क्यान्सर मध्ये पेटको क्यान्सर दोस्रोमा र महिलामा चौथोमा देखिएको छ। पेटको क्यान्सरका लक्षण फरक फरक हुन्छ। जस्तो पित्तथैलीको र कलेजोको क्यान्सरमा जण्डिस देखा पर्छ।

तर आमाशयको क्यान्सरको सुरुमा एउटा लक्षण देखिने भनेको एक्कासी ग्याष्ट्रिक देखियो, अमिलो पानी आयो, पेट दुख्ने, खान मन लागेन भने र उमेर ४५ नाघेको छ भने  क्यान्सरको लक्षण हुन सक्छ। पेट दुख्ने, खान मन नलाग्ने लगायतका समस्या देखिएपनि धेरैले ग्याष्ट्रिकको औषधी खादै बस्ने गरे तर इन्डोस्कोपी गर्न जादैनन जसले गर्दा क्यान्सरले भयानक रुप लिइसकेको हुन्छ। 

तर आमाशयको क्यान्सर अहिले उपचारका हिसाबमा सहज बनेको छ। अहिले ७५ प्रतिशत आमाशय क्यान्सर सुरुमै पत्ता लाग्ने हो भने निको बनाउन सकिन्छ। यो मात्र हैन ठुलो आन्द्राको क्यान्सर पनि उपचारमा सजिलो भएको छ। आन्द्राको क्यान्सरमा पश्चिमा देशमा भएको अध्ययन अनुसन्धान धेरै भएकोले यसमा उपलब्धी भएका छन। जापान , कोरीया र चीनमा यो आमाशय क्यान्सर धेरै भएकाले २० बर्षअधिको उपचार र अहिलेमा धेरै परिवर्तन भइसकेको छ।

ग्याष्ट्रिक र आमाशय क्यान्सर गराउने एकै किटाणु एच पाइलोरी
ग्याष्ट्रिक र आमाशय क्यान्सर गराउने एकै किटाणु एच पाइलोरी नै भएकाले यी दूई छुटयाउन केही अफठयारो छ। यी दुवै रोगको लक्षण छुट्याउन निकै गाहे छ किनकी एउटै किटाणुले दुःख दिने भएकाले पहिचानमा समस्या भएको पेट शल्य चिकित्सक डा सुनिल शर्मा बताउछन। तर इन्डोस्किकोपीबाट पत्ता लगाउन सकिन्छ। यो सुबिधा अहिले उच्च हिमाली क्षेत्रमा समेत  सहज भइ सकेको छ। क्यान्सर र ग्याष्ट्रिक छुट्याउने भनेको इन्डोस्कोपी  जाच गराउन सकिन्छ। मुखको माध्यमबाट आमाशय सम्मको अबस्था जाच गर्ने नै इन्डोस्कोपी हो।

नेपालमा गरिएको एक अध्ययन अनुसार आमाशयको क्यान्सर  पहाडी भेगका जनजाती समुदायलाई धेरै छ। पहाडी भेगका राइ, मगर, लिम्बु, तामाङ, तिब्बतियनलाई धेरै भएको देखिएको छ। मंगोलियन ओरिजीन भएकालाई धेरै देखिएको छ तर बाहुन क्षेत्री नेवारलाई पनि नभएको हैन उनीहरुमा पनि देखिएको छ। 

यदी परिवारका कसैलाई क्यान्सर छ भने अन्यले पनि साबधानी अपनाउनुपर्छ। ग्याष्ट्रिक क्यान्सर गराउने मुख्य भनेको एच पाइलोरी भएको जापानीजहरुले पत्ता लगाए पनि भाग्यबश नेपालमा भएका एच पाइलोरी खासै कडा र सक्रिय भएको पाइएको छैन। 

इन्डोस्कोपी बारम्बार गरिरहन पर्दैन। तर एच पाइलोरीको जाच  बिभिन्न तरिका जस्तो श्वास, रगत तथा दिसाबाट गर्न सकिन्छ। यो जाचबाट एच पाइलोरी आमाशयमा छ छैन पत्ता लाग्छ। जुन किटाणु तत्काल हटाउन जरुरी छ। यसका लागि सबैभन्दा सस्तो र भरपर्दो जाँच भनेको दिसाको जाँच हो। एक हजार रुपैयामा जाँच हुन्छ। 

मलद्धारको क्यान्सर कम उमेरकामा बढी 
ठुलो आन्द्राको क्यान्सरमा दिसा गर्ने बानीमा परिवर्तन आएमा हुन सक्छ। पहिला पहिला दिनको एकपटक खुलेर दिसा आएपनि अहिले कब्जियत हुने गरेको छ वा पखाला लाग्न थालेको छ भने सर्तक हुने मात्र हैन ग्याष्ट्रोलोजिष्टसंग सल्लाह लिने गर्नुपर्छ। अर्को भनेको मलद्धारबाट रगत आउने भएको छ भने त्यो पनि मलद्धारको क्यान्सर हुन सक्छ। तर पाइल्स वा अल्काई या फिस्टुला पनि हुन सक्छ। ठुलो आन्द्राको क्यान्सर तीन प्रकारका भएपनि मलद्धारको क्यान्सर सबैभन्दा बढी तर कम उमेरकामा देखिन थालेको छ।

नेपालीहरुमा कम उमेरका सबैभन्दा कम १३ बर्षको उमेरकामा समेत मलद्धार क्यान्सर देखा परेको मेडिसिटी अस्पतालका पेट क्यान्सर शल्यचिकित्सक डा सुनिल शर्माले बताए। यो जेनेटिक रोग भएकाले निकै कडा रुपमा सानै उमेरमा देखा पर्ने गरेको छ। अब सानो उमेरमा मलद्धारबाट रगत आयो भने सानोमा क्यान्सर हुदैन भन्ने भ्रम आम जनताले मात्र हैन स्वास्थ्यकर्मी वा डाक्टरले पनी आफनो दिमागबाट हटाउनुपर्छ। नेपालमा हुने मलद्धारको क्यान्सर सानो उमेरमा बढी देखापरेको बिभिन्न अध्ययनहरुले देखा पर्नुका साथै क्यान्सर शल्यचिकित्सकहरुले पत्ता लगाएका छन।

त्यसैले औषधी खाएर पनि मलद्धारबाट रगत आउन नरोकिएमा वा रगत आएको देख्ने बित्तिकै पनि क्यान्सर हो कि भनेर क्यान्सर बिशेषज्ञ कहा जचाउनु पर्छ। सानो उमेरका धेरैमा मलद्धारबाट रगत आएमा क्यान्सर शल्यचिकित्सकसम्म नै पुग्नुपर्छ। जनरल फिजिसियन मै पुगेर रोग पहिचानमा ढिला गर्न हुदैन। 


क्यान्सर भएर पनि केही नहुने एक मात्र सानो आन्द्राको क्यान्सर 
सानो आन्द्राको क्यान्सर भनेको अन्य क्यान्सरका तुलनामा एकदमै न्युन छ। किनकी यो क्यान्सरमा लिम्फोमा र ग्याष्ट्रिक स्टोमल टयुमर जुन सानो आन्द्रामा देखिएपनि यो आफै हट्नेछ। जसलाई सेल टनओभर भनिन्छ। क्यान्सर भएका सेल पनि आफै झर्दै जाने गज्जबको कोषिका हुन्छ। यसको खासै चिन्ता लिनुपर्ने अबस्था छैन। 

कलेजोको क्यान्सर : मुख्य कारण हेपाटाइटिस बि र सी
कलेजोको क्यान्सर नेपालमा एकदमै कम छ। मुख्य कारण हेपाटाइटिस बि र सी हो। यसको संक्रमणबाट बच्न सक्यो भने कलेजोको क्यान्सरबाट बच्न सकिन्छ। लिभरको उपचारमा अहिले ठुलो परिबर्तन आइसकेको छ। शल्यक्रियाका लागि एक दशकअघि ठुलो उपचार सम्भव थिएन तर अहिले यसको प्रत्यारोपण समेत सम्भव भइसकेको छ। तर ढिलो अस्पताल पुग्ने भएकाले उपचारमा जटिलता निम्तने गरेको छ। कतिपय अबस्थामा ठुलो आन्द्राको क्यान्सर कलेजोमा पुग्ने र फैलने गरेको छ। पहिला यसको उपचार सम्भव थिएन भने अहिले यसको उपचार सम्भव छ।   

बारम्बार पित्तथैलीमा ढुंगा देखियो भने पित्तथैलीको क्यान्सर
पित्तथैलीको क्यान्सर अन्य क्यान्सरको तुलनामा पहिचानमा सबैभन्दा गाहे छ। यो नेपालमा मात्र हैन बिश्वमा नै गाहे छ। बिश्वका दक्षिण अमेरीकाका पेरु बोलिभिया लगायतका देशमा यो क्यान्सर अत्यधिक छ त्यसपछि पाकिस्तान भारत र नेपालमा पनि धेरै देखा परेको छ। पित्तथैलीमा ढुंगा देखियो भने क्यान्सर हुने सम्भावना छ। यदी पेटको अल्ट्रासाउण्ड गराउदा पित्तथैलीमा ढुंगा देखियो भने नियमित चिकित्सकको अनुगमनमा बस्ने गर्नुपर्छ। साथै पित्तथैलीमा सानो मासु पलाएको पोलिभ देखिएको छ भने त्यसले पनि क्यान्सर हुन्छ भन्ने  भ्रम देखिएको छ यो चिकित्सकहरुले पनि भन्ने गर्छ।

तर यसो भएमा डराउनुपर्दैन। यो गलत सन्देश हो। यस्तो अबस्थामा एक सेन्टिमिटर भएमा मात्र निकाल्ने हो यसभन्दा कम हुदा डराउनुपर्दैन ।यस्तो अबस्थामा निको हुन्छ तर यो भन्दा बढेमा भने निको बनाउन निकै धौ धौ हुने गरेको छ। पटक पटक जण्डिस भएर क्यान्सर हुने होइन। भाइरस, खाना वा अल्कोहलका कारण पनि जण्डिस हुने गरेको छ।

यसले कलेजो रोग निम्त्याउछ। अल्कोहल अत्यधिक सेवन गर्नेलाई कलेजो वा पित्तथैलीको समस्या हुन सक्छ। पित्तथैलीको क्यान्सर उपचार एक सयमा १० को मात्र सम्भव छ। यसको उपचारमा जानुअघि नै यो रोगको पहिचानमा ध्यान दिनु पर्छ।

यी सबै पेटको सुरुको समस्या पत्ता लगाउने भरपर्दो उपाय भनेको भिडियो एक्सरे गर्नु हो। पेरुजस्ता देशमा अत्यधिक पित्तथैलीको क्यान्सर हुने गरेकाले त्यहा पित्तथैली नै निकालेर फाल्ने गरेका छन। तर पित्तथैलीमा ढुंगा देखिदैमा फाल्नै पर्ने अबस्था नहुने र यो गलत अभ्यास भएको डा शर्माको भनाइ छ।

मेरुदण्डको बिचमा दुखिरहने र दुब्लो हुदै गएकोलाई प्याङक्रियाजको क्यान्सर 
नेपालमा पनि यो क्यान्सर बढदैछ। बिशेषगरी मासु र अल्कोहलका कारणले यो क्यान्सर बढदैछ। प्याक्रियाजको क्यान्सर दूई प्रकारको हुन्छ एक प्याङक्रियाजको मुख्य भाग र अर्को प्याङक्रियाजको मुख। प्याङक्रियाजको मुखको क्यान्सर भने सुरुकै अवस्थामा पत्ता लाग्छ। किनकी सुरुको अबस्थामा यसमा जण्डिस देखा पर्छ। जसले गर्दा चाडो पत्ता लाग्छ तर प्याङक्रियाजकै क्यान्सरमा भने ढिलो पत्ता लाग्छ।  यसमा ढाड दुख्ने र दुब्लो हुनेहरुलाई प्याङक्रियाजको क्यान्सर हुन सक्छ। 

दुभाग्य भिडियो एक्सरेले पनि यो क्यान्सर पत्ता लाग्दैन सिटीस्क्यान गर्नुपर्छ। तल्लो भन्दा पनि मेरुदण्डको बिचमा दुखिरहन्छ र दुब्लो हुदै गएकोलाई यो क्यान्सर हुन सक्छ। यो समस्या भएकाहरु ढिलो अस्पताल पुग्ने भएकाले क्यान्सर फैलिएर अन्य अंगमा पुगिसकेको हुन्छ। पित्तथैली र प्याङक्रियाजको क्यान्सरको पहिचान र उपचारमा संसारमा नै नया उपलब्धी हासिल हुन सकेको छैन। जसले गर्दा ढिलो पहिचान हुने र उपचारमा आएका मध्ये आधालाई पनि जिवन दिन नसक्ने चिकित्सकहरु स्विकार्छन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ