arrow

केपी ओलीलाई प्रश्न, मधेश कहिलेबाट नयाँ राष्ट्र भयो ? 

logo
प्रकाशित २०७५ फागुन २७ सोमबार
madhesh.jpg

काठमाडौं । काठमाडौंमा केन्द्रीय सरकारले एउटा बिखण्डनमा लागेको ब्यक्तिलाई मुलधारको राजनीतिमा ल्याउन सफल भयौं भन्दै डम्फू पिटिरहेको छ भने जनकपुरमा त्यही ‘स्वतन्त्र मधेश’ को नारा घन्काउने समूहले खुलेआम ‘मधेश एसियाको नयाँ राष्ट्र’ भन्दै हिँडिरहेको छ । 

गत शुक्रबार (फागुन २४ गते) सिके राउतसंग ओली सरकारले गरेका ११ बुँदे सहमतिहरुको यतिबेला राउत पक्षले धज्जी उडाउँदै हिँडिरहँदा केपी शर्मा ओली सरकार भने मूकदर्शक बनेर बसिरहेको छ । 

सहमतिको ४८ घण्टा नबित्दै ती सहमतिको धज्जी त उडाइयो नै नेपालको अखण्ड भूभाग रहेको मधेशलाई छुट्टै राष्ट्र भनी नाराबाजी र ब्यानर तथा झण्डा बोकेर हिँड्दासमेत देश रक्षामा खटिएको सुरक्षाकर्मी लाचार भएको छ । 

देश रक्षाका लागि कसैको आदेश कुर्नुपर्दैन । तर बिखण्डनकारीलाई ओलीकै दवावमा जेलबाट मुक्त भएको २४ घण्टा नबित्दै गरिएको सहमतिका कारण सुरक्षाकर्मी पनि फेरि ओलीकै निर्देशन कुरिरहेका त हैनन् ? 

होइन भने संविधानको मूलमर्मलाई प्रहार गर्ने त्यस्ता बिखण्डनकारीलाई सुरक्षाकर्मीले किन कानुनी दायरामा ल्याउन सकिरहेको छैन ? 
के केपी ओली अलग नेपाल चाहन्छन् ? होइन भने उनले जवाफ दिनु पर्दैन ? समयले यसको जवाफ त दिने नै छ । तर जनताले प्रधानमन्त्री ज्यू पृथकतावादीलाई मान्यता दिएको हो कि नेपाल अलग भयो ? भनेर सोधिरहँदा नैतिकताका आधारमा उनले जवाफ दिनुपर्छ । 

अन्य मुलुकमा सानो दुर्घटना हुँदा पनि नैतिकताका आधारमा राजीनामा दिने चलन छ । तर नेपालमा भलै सरकारमा पुगेपछि नैतिकता किन नगुमोस् कम्तीमा प्रधानमन्त्री ओलीले यसको जवाफ दिनुपर्यो । 

सकिन्छ भने बिखण्डनकारीलाई कानुनी दायरामा ल्याउनु पर्यो हैन भने यसको जवाफ ओलीलाई पनि जनताले दिने नै छन् । 

प्रधानमन्त्री ओलीले शुक्रबार सहमति गर्दाका बेलामा अरुलाई मान्छे गनेनन् । राउतलाई निकै ठूलो बनाए । त्यसको जवाफ राउतले जनकपुर पुगेर दिइसकेका छन् । 

अब पनि उनका बारेमा सरकारले ढाकछोप गर्नुपर्ने कुनै कारण छैन । रातारात राउतलाई बदलेको आभाष दिलाएर जनताको आँखामा छारो हाले पनि ओलीले ती राउतका कार्यकर्ताले मधेश एसियाको नयाँ राष्ट्र भनेर बनाएका ब्यानरबारे किन नबोल्ने ? 

मुलुकमा पृथकतावाद मौलाइरहेको छ । त्यसको जवाफ सरकारले दिनु त कता हो कता प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले गल्ती ढाक्दै कविता लेखे । गल्ती ढाक्न खोज्दा आफ्नो हैसियत देखाए प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले, लेखे यस्तो कविता 

पृथकतावादको जवाफ कविता हो कि कानुनमार्फत नियन्त्रण हो ? 
गृहमन्त्री रामबहादुर थापा बादलले सहमति तोडे त्यसैअनुसारको प्रक्रियामा जाने चेतावनी आइतबार संसदमा दिएका थिए । तर उनको चेतावनीलाई कुल्चिँदै राउतका कार्यकर्ताले खुलेआम मधेशलाई छुट्टै राष्ट्र भएको बताए । 

अरु बोल्दा ओली नबोल्नुको पछाडिको रहस्य के हो ? पृथकतावादी राजनीति गर्ने सिके राउतसंग सरकारले सहमति गर्दा अरु झस्किने तर सरकार नझस्किने कारण के हो ? 

सुनिन्छ ओली र राउतलाई नियन्त्रण गर्ने रिमोट कन्ट्रोल एउटै हो । यदि यस्तै हो भने देश बचाउन जनता नजागी होला र ? अहिले सामाजिक संजालमा आम नागरिक केपी ओलीप्रति आक्रोशित भएको छ  । 

नागरिकहरु राष्ट्रवादीको नारा लगाउने ओली कतै राष्ट्रघाती निस्कने त हैनन् भनी प्रश्नसमेत उठाउन थालेका छन् । 

प्रधानमन्त्री ओलीले यसको जवाफ तत्काल नदिने हो भने सयौं वर्षसम्म पनि उनीमाथि कहिल्यै नमेटिने दाग रहिरहने छ । अनि अहिलेसम्म लगाएको राष्ट्रवादको खोक्रो नारा पनि कलंकको रुपमा रहने छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ