arrow

मर्मत भएनन् अस्पतालका उपकरण

logo
काशीराम शर्मा,
प्रकाशित २०७५ फागुन २७ सोमबार
bheri-hospital_aAVprgHTIO.jpg

बाँके । पश्चिम नेपालका सरकारीमध्ये नेपालगन्ज भेरी अस्पतालमा मात्रै केही जटिल रोगको उपचार हुन्छ । तर, उपचारका लागि आवश्यक पर्ने उपकरणहरु बिग्रिएपछि बनाउनेतर्फ अस्पतालले ध्यान नदिँदा बिरामी चर्को मूल्य तिरेर निजी स्वास्थ्य संस्थामा गएर परीक्षण गराउन बाध्य छन् ।

पश्चिम नेपालकामध्ये भेरी अस्पतालमा मात्रै मुटु रोगको उपचार सेवा उपलब्ध छ । सिकलसेल एनिमियाका बिरामीको पनि उपचार हुन्छ । पूर्णतया वंशाणुगत यो रोग तराईका थारू समुदायका मानिसमा बढी देखिएको छ । अस्पतालमा मुटुको भिडियो एक्सरे गर्ने एउटा ‘इको’ र दुइवटा सिकलसेल जाँच्ने ‘इलेक्ट्रोफोरसिस मेसिन’ लामो समयदेखि मर्मत अभावमा थन्किएको छ । बिग्रिएर थन्किएका मेसिन मर्मत गरेर सञ्चालन गर्नेतर्फ अस्पताल प्रशासनले ध्यान दिन सकेको छैन ।

भेरी अस्पतालको सेवासुविधा प्रभावकारी हुँदा निजी क्लिनिकको आम्दानी घट्छ भन्ने मानसिकता भएकाले मेसिन मर्मतमा चासो नदिइएको सेवाग्राहीको गुनासो छ । स्वास्थ्य परीक्षण गर्न लाई ल्याइएका ती मेसिन प्रयोगमा ल्याउन अस्पतालले तदारुकता देखाउनुपर्ने सेवाग्राहीको माग छ ।

नेपालगञ्ज–१५ का भरत शाहले भने, “ अस्पतालको सुविधा राम्रो भए निजी क्लिनिकको व्यापार घट्छ, अनि कसरी अस्पतालको सेवा सुधार्न ध्यान दिन्छन् ?” अस्पतालमा मुटुरोगको उपचार सेवा भए पनि अत्यावश्यक उपकरण बिग्रिएर थन्किँदा सहजरूपमा सेवा प्रवाहमा समस्या भइरहेको छ । विभिन्न खाले जटिल रोगको जाँचका मेसिन थन्किएपछि जटिल प्रकारका बिरामीका लागि उपचार निकै खर्चिलो बनेको छ । मेसिन ल्याएदेखि सिकलसेलका एक बिरामीले पनि त्यसबाट आफ्नो स्वास्थ्य परिक्षण गर्न पाएका छैनन् ।

मेसिन प्रयोगमा नआउँदै बिग्रिएको अस्पतालका निमित्त प्रमुख रूपानन्द अधिकारीले बताए। “भएका मेसिन बिग्रिएपछि उपचारका लागि अस्पतालमा आउने जटिल रोगका बिरामी मारमा परेका छन्, मर्मतका लागि रकम अभावले केही ढिलाइ भएको हो, अब छिट्टै मर्मत गर्दैछौँ”, उनले भने। महङ्गो रकम तिरेर निजी क्लिनिकमा स्वास्थ्य परीक्षण गराउन बाध्य हुनुपरेको सिकलसेल एनिमियाको परीक्षणका लागि अस्पताल पुग्नुभएका फत्तेपुरमा कान्छा चौधरीले बताए । अस्पतालमा दैनिक १० नागरिक सिकलसेल जाँचका लागि आउने गरेको प्याथालोजी विभाग प्रमुख बालकृष्ण अवालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ