काठमाडौं। विश्व मृगौला दिवस बिहीबार नेपालमा पनि मनाइँदै छ । मृगौला रोग तथा यसबाट बच्ने उपायहरुका बारेमा जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाईँदैछ।
बिहान विभिन्न संघसंस्थाले प्रभातफेरि निकाले । सो अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग फिजिसियन फर सोसियल रेस्पोन्सिविलिटी नेपाल (पीएसआरएन) र स्वतन्त्र विद्यार्थी युनियनले बिहान शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भए। कार्यक्रमका आयोजकसँगै पैदलयात्रा गरेर प्रधानमन्त्री ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्नेमा जोड दिए। हरेक वर्ष मार्च १४ का दिन मनाइने दिवसका अवसरमा विभिन्न अस्पताल तथा संस्थाहरुले निःशुल्क परीक्षणसहित विभिन्न कार्यक्रम गर्दैछन्।
नेपालमा २६ लाख भन्दा बढी मानिसमा मृगौलाको केही न केही समस्या रहेको राष्ट्रिय मृगौला उपचार केन्द्रको तथ्याङ्क छ। मृगौलालाई स्वस्थ राख्न बर्षमा एक पटक स्वास्थ्य परीक्षण गर्न डाक्टरले सुझाव दिएका छन्। नेपाल किड्नी फाउन्डेशनले पनि प्रभातफेरि निकाल्यो। दाङमा पनि मृगौला दिवस मनाइएको छ।