arrow

खानेपानीका योजना प्रयोगमा नआउदै गरिए फर्छ्यौट, रित्ता ट्याङ्की देखेर स्थानीय आक्रोशित

logo
दीपेन्द्र बस्नेत र जुद्ध चौधरी,
प्रकाशित २०७५ चैत १३ बुधबार
tank.jpg

बेलडाँडी ।  खानेपानी मन्त्रालयद्वारा कञ्चनपुरको दक्षिणी क्षेत्रको बेलडाँडी लगायतका दर्जनौं स्थानमा ट्याङ्की  बितरण गरिएको १० महिना बित्दा समेत प्रयोगमा नआउदै योजना फर्छ्यौट गरिएका छन् । स्वच्छ पानीको लागि भन्दै खानेपानी मन्त्रालय द्वारा कञ्चनपुरको दक्षिणी क्षेत्रमा बितरण गरिएका   ट्याङ्की लगायतका सामाग्री प्रयोगमा आउन नसक्दा स्थानीय सुबिधाबाट बञ्चित बन्न पुगेका हुन  ।

गत आर्थिक वर्षको असारमा जिल्लाको दक्षिणी क्षेत्रका बेलडाँडी गाउँपालिका , बेलौरी नगरपालिका  र लालझाडी गाउँपालिकामा जनतालाई स्वच्छ पिउने पानीको सुबिधाका लागि खानेपानी मन्त्रालयले बितरण गरिएका सामाग्री मठ मन्दिर र सार्वजनिक स्थानहरुमा प्रयोग बिहिन अबस्थामा थन्किए पछि उपभोक्ता सेवाबाट बञ्चित बनेका हुन । १० महिना अघि खानेपानी मन्त्री बिना मगरको बिशेष पहलमा मठ मन्दिर तथा सार्वजनिक स्थलहरुमा स्वच्छ खानेपानीको सुविधाको लागि बितरण गरिएका ट्याङ्की , स्टेण्ड र फिल्टर थन्किएका छन् ।

मन्त्री मगरकै निर्वाचन क्षेत्रमा उनकै मन्त्रालयले बितरण गरेका योजना कार्यान्वयन नबन्दा स्थानीय बासिन्दाले चर्को आलोचना गरेका छन् । बेलडाडी झिलमिलाका स्थानिय खगेन्द्र पन्तले भने मन्त्री मगरले योजना पार्दा खुशी भएका जनता अहिले  एकदमै निराश छौं  । स्थानिय पन्तले भने 'जनतालाई भुलाउन ट्याङ्की दिएर झुक्याएको  महशुस हुदैछ ।'
 
दक्षिणी क्षेत्रको बेलडाँडी लगायतका स्थानमा  अार्थिक वर्षको अन्तमा बजेट  आफू निकटका कार्यकर्ता मार्फत बिनियोजन गरेर मन्त्रीले योजना अलपत्र पार्दै जनतालाई  झुक्याउने काम गरेको स्थानिय बैदु रानाले बताए ।  स्थानीय निकायलाई समेत जानकारी नगराई बितरण गरिएको योजनाको उचित अनुगमन नहुँदा योजना सफल हुन सकेन ।  बेलडाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापाले भने 'योजना गत असार पहिलो हप्तामा बितरण भएछ हामीलाई कुनै जानकारी गराइएन एकाएक फर्छ्यौटका लागि उपभोक्ता समितिका नाममा सिफारिश माग्न आए पछि मात्रै स्थानिय निकायले थाहा पाएको हो । ' गाउँपालिका अध्यक्ष थापाले भने 'मन्त्री बिना मगरद्वारा बितरण गरिएका खानेपानीका आयोजनाका सामाग्री अहिले प्रयोग बिहिन र बेवारिसे अबस्थामा थन्किएका छन् ।' बेलडाँडी गाउँपालिकाका अध्यक्ष थापा भन्छन् -यस गाउँपालिकाका १६ स्थानमा बितरण गरिएका योजनामा अनुमानित ३२ लाख खर्च भए पनि आयोजना प्रयोगमा नआउदा बजेट खेर गएको छ ।

बेलडाँडीमा जनतालाई स्वच्छ पानीको लागि बितरण गरिएका योजना अलपत्र पारेर ट्याङ्की , स्टेन्ड , मोटर र फिल्टर मात्रै थुपारिए पछि स्थानियहरुले चर्को आक्रोश पोखेका छन् । बेलडाँडी झिलमिलाका चन्द्र बुढा भन्छन् ' जनताले ट्याङ्कीनै देख्न नपाएका हुन जस्तो गरेर रातारात उपभोक्ता समिती बनाउने अनि कामै नगरी बजेट पचाउने काम गरिएको छ । तेस्तै बेलडाँडीका अर्का स्थानिय हरिश्चन्द्र राना भन्छन्  ' खाने पानी योजना सञ्चालन गर्नका लागि उपभोक्ता समिति गठन गर्दा अाफ्नै पार्टीका कार्यकर्तालाई मात्र राखेकाले योजना कार्यान्वनमा लापर्बाहि भएको हो। उपभोक्ता समितिमा अाफ्ना कार्यकर्ता भर्ती भर्ने काम मात्र गरेकाले टँकी सम्म पानी पुग्न नसकेको हो।' उनी भन्छन्  बिकासका नाममा गरिएका अधुरा काम हेर्दा अनिमियतता भएको शंका गर्ने ठाउँ देखिएको छ ।

जिल्लाको दक्षिणी क्षेत्रका विभिन्न स्थानीय तहमा ८० देखि ८५ को हाराहारी संख्यामा मठमन्दिर र सार्वजनिक स्थलमा स्वच्छ खानेपानीको प्रबन्ध गर्न खानेपानी तथा सरसफाई मन्त्रालयबाट बजेट आएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कञ्चनपुरका इन्जिनियर सरोज न्यौपानेले बताए ।  इन्जिनियर न्यौपानेले भने ' जिल्लाको दक्षिणी क्षेत्रमा मन्त्रालयबाट बिनियोजित बजेट बाट स्वच्छ खानेपानीका लागि उपभोक्ता समितीले समाग्री खरिद र भुक्तानीको माग आए पछि भुक्तानी गरिएको हो । '  इन्जिनियर न्यौपानेले भन्छन् 'स्थानीय निकायको सिफारिसको आधारमा भुक्तानी गरिएको हो ।'
यस्तै बेलडाँडी ५ स्थित रौतेली बिचवामा रहेको स्वास्थ्य चौकीमा पनि २ थान ट्याङ्की , नल २ थान , फिल्टर १ थान , पानी तान्ने मोटर १ थान दिइए पनि अहिलेसम्म जडान नगरिदा प्रयोगमा आउन नपाउदै योजना फर्छ्यौट गरिएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ