काठमाडौं । बारा र पर्सामा आएको आएको हावाहुरीका कारण प्रभावित भएकाहरुका लागि तत्काल राहत सामग्री पुग्न सकेको छैन । गृह मन्त्रालय अन्तर्गतको आपतकालीन उद्धार केन्द्रले आवश्यक राहत सामग्रीको व्यवस्थापनका लागि सक्रिय रुपमा पहल भइरहेको दावी गरे पनि अहिलेसम्म पुग्न सकेको छैन ।
केन्द्रले बिहान ५ बजे काठमाडौंबाट मेडिकल टोली गएको बताएको छ । उक्त टोलीसंगै ४६८ वटा पाल तथा ४१३८ थान कपडा लिएर बारातिर लागेको छ ।
स्थानीय स्तवरवाट थप उद्दार राहतका काम हुँदै आएको केन्द्रले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धारमा खटिन सुरक्षा निकायहरुलाई निर्देशन दिए पनि आइतबार राति भएको घटनाको उद्धारका लागि सोमबार बिहान मात्र जाँदा भने त्यसले सकारात्मक सन्देश दिन सकेको छैन ।
उद्धार केन्द्रले बारामा अहिलेसम्म २६ जनाको मृत्यु भएको र पर्सामा एक जनाको मृत्यु भएको जनाएको छ ।
घाइते ६१२ जनामध्ये २७० जना सामान्य उपचारपछि घर फर्केको जनाइएको छ । घाइतेहरुको निःशुल्क उपचार भइरहेको छ ।
स्थानीय स्तरबाटसमेत तत्काल राहत पुग्न सकेकोक छैन । प्रदेश २ को मन्त्रिपरिषद बैठक बसिरहेको बताइए पनि तत्काल कुनै निर्णय गर्न सकेको छैन ।