वीरगञ्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्कटको समयमा सबै एक भएर हावाहुरीबाट पीडितलाई सरकारले छिटोभन्दा छिटो राहत सहयोग गर्नुपर्ने बताएका छन् ।
असिनापानीसँगै आइतबार साँझ बारा र पर्सामा आएको शक्तिशाली हावाहुरीबाट घाइते भई वीरगञ्ज उपक्षेत्रीय अस्पताल तथा नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका घाइतेको स्वास्थ्य अवस्था बुझ्ने क्रममा सभापति देउवाले सो कुरा बताएका हुन् ।
सङ्कटको घडीमा हावाहुरीबाट पीडितलाई राहत तथा पुनर्वास कार्यक्रममा सक्दो सहयोग गर्न कांग्रेस सबैसँग सहकार्य गरी अगाडि बढ्न चाहेको बताउँदै सभापति देउवाले हावाहुरीबाट प्रभावितको समस्या सम्बोधन नभएमा नेपाली कांग्रेसले संसद् लगायतका स्थानबाट आवाज उठाउने बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले आजै हावाहुरीबाट प्रभावित बाराको फेटा गाउँपालिकाको भलुही, भरवलिया लगायतका क्षति भएका गाउँको स्थलगत निरीक्षण गरेका थिए ।
यसै गरी आजै फेटा गाउँपालिका–१ भरवलियाको राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारी, राजपाका नेता राजेन्द्र महतो, अनिल झा, प्रदेश नं २ का मन्त्री जितेन्द्र सोनल लगायतले हावाहुरी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी पीडितको समस्याबारे जानकारी लिएका थिए ।