धुर्मुस सुन्तली फाउण्डेशनले खेलबाट उठेको १५ प्रतिशत रकम आँधी प्रभावितलाई दिने
प्रकाशित २०७५ चैत २० बुधबार
683
Shares
चितवन । धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ चैत २३ गते आयोजना हुने मातृभूमी कपबाट उठेको रकमको १५ प्रतिशत आँधी प्रभावित क्षेत्रमा खर्च गर्ने भएको छ । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ ले सामाजिक संजाल फेसबुकममा एक स्ट्याटस पोष्ट गर्दै बारा र पर्सामा राहत बाँडेको र निरन्तर अभियान चलिरहने जानकारी गराए ।
आँधी गएको भोलिपल्टै तराई पुगेका धुर्मुसले फाउण्डेशनको तर्फबाट ४०० पीडित परिवारलाई राहत बितरण गरेका थिए । राहत बितरणका लागि तराई पुगेका धुर्मुसले पुर्नबासको लागि जतिसक्दो छिटो सम्बन्धित निकायको ध्यान जानु पर्ने बताए । उनले लेखेका छन् ‘घरबार गुमाएर खुला आकाशमा रात काट्न बाध्यहरुका लागि गाँस, बाससहित छिटो भन्दा छिटो पुर्नबास नै अहिलेको मुख्य आवश्यकता हो । त्यसैले पुर्नबासको लागि सम्बन्धित निकायको ध्यान जाओस् ।’
यता धुर्मुस सुन्तली फाउण्डेशनले चितवनमा बनाउने रङ्गशालाको सहयोगार्थ आयोजना हुने मातृभूमी कपको भब्य तयारी भईरहेको छ । कलाकारहरुको टिमलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले प्रशिक्षण दिईरहेका छन् । कलाकारहरुको तर्फबाट भने पूर्व खेलाडी समेत रहेका कमल मैनाली र सुनिल थापाले पनि प्रशिक्षण दिईरहेका छन् ।
अहिले अभ्यास खेलमा सुनिल थापा, बद्रि पंगेनी, कुमार कट्टेल, सन्दीप क्षेत्री, राजु ढकाल, घनश्याम गौतम, सन्तोष लामा, सरोज खनाल, दयाहाङ राई, निश्चल बस्नेत, हेमन्त शर्मा, हेमन्त राना, सुरज सिंह ठकुरी, राजा राजेन्द्र पोखरेल, अर्जुन घिमिरे‘पाँडे’, निर्मल शर्मा, अनुराग कुँवर, कृष्ण काफ्ले र सलिनमान बनिया दैनिक उपस्थित भईरहेका छन् । खेल चैत २३ गते शनिबार किर्तिपुर खेल मैदानमा हुनेछ ।