भूमरी पीडितको घर केन्द्रीय सरकारले बनाउने, नेपाली सेनालाई जिम्मा
प्रकाशित २०७५ चैत २२ शुक्रबार
296
Shares
काठमाडौं । बारा र पर्सामा आएको भूमरीले भत्काएका घर केन्द्रीय सरकारले बनाउने भएको छ । घर निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय भएको सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले जानकारी दिएका छन् ।
बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले हावाहुरीले भत्काएको घर बनाउने निर्णय गरेको हो । मन्त्री बास्कोटाले मन्त्रीपरिषद्ले जनता आवास कार्यक्रमको डिजाइनअनुसार भत्किएका घर निर्माण गर्ने निर्णय गरेको बताएका हुन् ।
मन्त्री बास्कोटाले सामाजिक संजाल ट्वीटरमा जानकारी दिँदै लेखेका छन् –‘घर निर्माण कार्यको सहजीकरण गर्नको लागि प्रदेश २ का प्रमुख सचिवको संयोजकत्वमा बारा र पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी, रक्षा मन्त्रालय अन्तर्गत नेपाली सेनाको प्रतिनिधि र शहरी विकासको प्रतिनिधि रहेको ५ सदस्यीय समिती गठन गरिएको जानकारी गराउँदछु ।’
यो ट्वीटरको एक घण्टा अगाडि उनले लेखेका थिए – ‘हालै हावाहुरीबाट बारा र पर्सा जिल्लामा घरवार क्षति भई पिडित हुनुभएका पिडित जनताहरुको घर नेपाल सरकारले बर्षायाम अगाडि नै जनता आवासको मोडलमा बनाई हस्तान्तरण गर्नको लागि नेपाली सेनालाई जिम्मेवारी दिइएको सबिनय सबैमा जानकारी गराउँदछु।’