arrow

गिट्टी कुटेर छोरीलाई उच्च शिक्षा

logo
सुशीला रेग्मी,
प्रकाशित २०७५ चैत २२ शुक्रबार
gitti1.jpg

बेझाड । रामपुर नगरपालिका–६ तिलकपुरका टोपनारायण ढकालले गिट्टी कुटेर छोरीको फार्मेसी पढ्ने सपना पूरा गरेका छन् ।  प्रयाप्त आयस्रोत नहुँदा छोराछोरीको पढ्ने चाहना हुँदाहूँदै पनि बीचमै पढाइ छोडाउन बाध्य हुने यहाँका अभिभावकका लागि गतिलो उदाहरण बनेका छन्, टोपनारायण ढकाल । उनले गिट्टी कुटेको आम्दानीबाट छोरीलाई बुटवल बजारमा राखेर फार्मेसी शिक्षा पढाउँदै आएको छ ।“सानैदेखि नै छोरीको पढाइ राम्रै थियो, एसएलसी दिएपछि उनले फार्मेसी पढ्ने इच्छा गरिन्, छोरीको सपना पूरा गर्न गिट्टी कुटेर फार्मेसी पढाउन थाले”, ढकालले भने ।

उनले कालीगण्डकीबाट ढुङ्गा ल्याई घरको आँगनमा बसेर गिट्टी कुट्न थालेको चार वर्ष भयो भन्दै बिहान, दिउँसो  र साँझ निरन्तर रुपमा गिट्टी कुट्ने र त्यसबाट आर्जन गरेको रकम छोरीको पढाइमा लगानी गरिरहेको बताए ।

दैनिक १० बोराभन्दा बढी गिट्टी कुट्दै आएका ढकालले भने, “आफूले पढ्न नसक्दा जीवनभर दुःख पाउनु प¥यो, सन्ततीलाई उचित शिक्षा दियो भने उनीहरुको भविष्य राम्रो होला नि !”

घरमै गिट्टी खरीद गर्न ग्राहक आउने हुँदा कुटेर राखे मात्र हुन्छ । ढकालले भने, “बिक्रीका लागि समस्या नहुँदा आय आर्जन गर्ने उपयुक्त माध्यम बनेको छ, गिट्टी कुट्ने पेसा ।”  रामपुर नगरपालिका क्षेत्रमा पछिल्लो समय ठूला ठूला घर भवन बन्न थालेपछि गिट्टी कुटेर आम्दानी गर्ने राम्रो अवसर मिलेको उनि बताउछन् ।

“गिट्टी कुटेर छोरीलाई फार्मेसी शिक्षा र छोरालाई होटल व्यवस्थापन शिक्षा पढाइरहेको छु, उनीहरुले भने बाबुको दुःख परिश्रमअनुसार नै मेहिनत गरेर पढिरहेका छन्” ढकालले भने ।
 
“छोरी फार्मेसी शिक्षा सकेर अब जागिरको तयारीमा छ”, उनले भने, “हाम्रो गाउँघरमा अझै पनि छोरीलाई पढाउनु हुँदैन भन्ने पुरानो मान्यता यदाकदा छ, चाहना र ईच्छा भए कडा परिश्रम गरेर भए पनि छोरीलाई उच्च शिक्षा दिन सक्ने उदाहरण म आफैं बनेर देखाएको छु ।”

 ढकालले दुःख गरेर छोरीलाई फार्मेसी शिक्षामा लगानी गर्नुभएको देख्दा स्थानीवासी दङ्ग छन् । अहिले उनले आय स्रोत बलियो बनाउन घरमा किराना पसल, बाख्रापालन व्यवसाय पनि चलाएका छन्  । घरको आँगनमा बसेर गिट्टी कुट्ने, घरको हेरचाह गर्ने, पसल चलाउँदैमा दिन गएको उनलाई पत्तो छैन् ।
 
५० वर्षीय ढकालले आफूले सक्दासम्म निरन्तर रुपमा गिट्टी कुट्ने बताउछन् । यस क्षेत्रमा करीब ५० घरभन्दा बढी गिट्टी कुट्ने व्यवसायमा आबद्ध छन् । घरबाटै प्रतिबोरा रु ५० मा धमाधम गिट्टी बिक्री हुन थालेपछि यस व्यवसायप्रति स्थानीयवासीको आकर्षण बढ्दो छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ