arrow

पार्टी निकटका दुई कमिश्नरलाई चुनाव आयोगले हटाएपछि तृणमूल काँग्रेसमा खैलाबैला

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७५ चैत २३ शनिबार
tmc-video-main.jpg

कलकत्ता । चुनावको मुखैमा पार्टी निकट मानिएका दुई प्रहरी कमिश्नरलाई चुनाव आयोगले प्रमुख जिम्मेवारीबाट हटाएपछि कोलकत्ताको राजनीति रोचक मोडमा पुगेको छ । यस अघि सिबिआईको टोलीले ममता बनर्जीका सहयोगी समेत मानिएका कोलकत्ता पुलिसका तत्कालीन कमिश्नर राजीव कुमारलाई शारदा चीटफण्ड घोटालाको अभियुक्त बनाएर अदालतमा मुद्दा चलाईरहेको छ । 

राजीव कुमार विरुद्ध मुद्दा सुरु भएपछि उनी स्वतः निलम्बनमा परेका थिए । राजीव कुमारको मुद्दामा सिबिआईले बयान लिएर सो बयान समेत भारतको सर्वाेच्च अदालतमा बुझाईसकेको छ । तर सो मुद्दामा कुनै फैसला भएको छैन । शुक्रबार फेरि प्रदेश निर्वाचन आयोगको कार्यालयले कोलकात्ताका पुलिस आयुक्त अनुज शर्मा र विधाननगरका पुलिस आयुक्त ज्ञानवन्त सिंह सहित दुई जना अन्य पुलिस आयुक्तहरुलाई समेत तत्काल सो पदबाट हटाउन निर्देशन दिएको हो ।  

यस अघि राजीव कुमारलाई कोलकत्ता प्रहरी कमिश्नरबाट हटाएपछि मुख्यमन्त्री ममता बनर्जीले धर्नामा बसेर अनुप शर्मालाई सो पदमा राख्न सफल भएकी थिईन् । तर, निर्वाचनकालागि केही समय मात्रै बाँकी रहँदा चुनाव आयोगले शर्मालाई पनि सो पदबाट हटाईदिएको हो । अहिले कोलकत्ता पुलिस कमिश्नर बनेर डा राजेश कुमार आएका छन् भने नटराजन रमेशबाबुलाई विधान नगरको प्रहरी कमिश्नर बनाईएको छ । यी दुई नगर बाहेक बीरभूम र डायमण्ड हार्वरका प्रहरी अधिरीक्षकलाई समेत सरुवा गरेको निर्वाचन आयोगले जानकारी दिएको छ । 

आयोगका प्रवक्ता श्री सन्तनु मुखर्जीले यो निर्वाचन आयोगको नियमित प्रक्रिया रहेको प्रतिक्रिया दिएका छन् । शनिबार हाम्राकुरासँगको संक्षिप्त कुराकानीको क्रममा चुनाव आयोगले संवेदनशील विषय रहेको भनेर परेको मुद्दामाथि अध्ययन गर्दा ती अधिकारीहरुलाई सोही निर्वाचन क्षेत्रमा राख्नु निष्पक्ष चुनावको लागि चुनौती देखिएकोले यस्तो निर्णय गरिएको जानकारी दिए । उनले भारतीय जनता पार्टीले झण्डै दुई साता अघि यस बारे मुद्दा दायर गरेको समेत स्पष्ट पारेका छन् । 

विधान नगर र कलकत्तामा यस अघि पनि ममता बनर्जीको तृणमूल काँग्रेस माथि मतदातालाई डर धम्की दिएको भन्ने आरोप लाग्ने गरेको थियो । सोही मुद्दा चर्किँदै जाँदा २०१६ मा भएको विधान सभा चुनावमा विपक्षी पार्टीहरुले चुनावकै दिन विभिन्न स्थानहरुमा तोडफोड र आन्दोलन गरेका थिए । त्यतिबेला प्रहरीले दमन गरेर नै विधान नगर, हावडा लगायतका क्षेत्रमा चुनाव सम्पन्न गरेको थियो । 

यसैबीच निर्वाचन आयोगको यस कदमको विरुद्धमा तृणमूल काँग्रेसले भने सामान्य प्रतिक्रिया दिएको छ । हाम्राकुरासँगको टेलिफोनमा भएको कुराकानीको क्रममा पश्चिम वंगालको विभान सभा समेत रहेका पार्टी प्रवक्ता दिरेक ओ ब्रियनले यसबारेमा पार्टीले निर्णय गरेपछि मात्रै धारणा सार्वजनिक गरिने प्रतिक्रिया दिए । तर, आफ्ना प्रमुख सहयोगीहरुलाई आयोगले कारबाही गरी आफ्नो पक्ष भन्दा बाहिरको मानिसलाई शक्तिमा ल्याएपछि यसले पार्टी भित्र भने खैलाबैला मच्चाएको छ । अहिले पार्टीका नेताहरु पार्टी अध्यक्ष ममता बनर्जीको प्रतिक्रियाको प्रतीक्षामा छन् । 

हाम्राकुरा डटकमका लागि सुदर्शन अर्यालले कलकत्ताबाट तयार पारेको रिपोर्ट ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ