बागलुङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले पार्टी गुटगत भासमा फसेको बताएका छन् । नेपाल प्रेस युनियनद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले चुनावपछि कांग्रेस हलचलबाट गुज्रेको उल्लेख गरे।
“पार्टीको आन्तरिक शक्ति सङ्ग्रह पनि हुनसकेको छैन”, नेता आचार्यले भने, “गुटगत विभाजनबाट कांग्रेसलाई बाहिर निकाल्न कोशिस भइरहेको छ ।” पार्टी कमजोर भएका कारण प्रतिपक्षीको भूमिका पनि अर्थपूर्ण हुन नसकेको उनको भनाइ छ । पूर्वअर्थमन्त्री समेत रहेका नेता आचार्यले मुलुको समृद्धिका लागि विदेशी लगानी र प्रविधि भित्र्याउनुपर्नेमा जोड दिए।
सरकारले हालै गरेको लगानी सम्मेलनबाट अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक सन्देश प्रवाह भएको उनको भनाइ छ । पूर्णतया लगानीयोग्य वातावरण नबनेसम्म विदेशी लगानी नभित्रने उनको जिकिर छ । उद्योगी, व्यवसायीलाई लगानीका लागि उत्प्रेरित गर्ने गरी नीतिगत र संरचनागत सुधार गर्नुपर्नेमा उनले जोड दिए ।