धरान । राष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीको इटहरीमा नवनिर्मित कलात्मक श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधामको आइतबार उद्घाटन गरेकी छन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विराटक्षेत्रमा अवस्थित मन्दिरले नेपालकै धार्मिक महत्व बढाएको बताइन्। राष्ट्रपति भण्डारीले पूर्वक्षेत्रमा रहेका धार्मिक तथा सांस्कृतिक पक्षको विकासमा प्रदेश सरकारलाई विशेष योजना बनाएर काम गर्न निर्देशनसमेत दिइन् ।
मन्दिर उद्घाटन समारोहमा प्रदेश प्रमुख गोविन्द तुम्वाहाङ, मुख्यमन्त्री शेरधन राई, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापामगर र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालवाबु पण्डितलगायतले सम्बोधन गरेका थिए ।
रु करीब सात करोडको लागतमा श्रीकृष्ण मन्दिर निर्माण भएको हो । विभिन्न दाताबाट प्राप्त सहयोग तथा चन्दा सङ्कलन गरी मन्दिर निर्माण गरिएको वृहत्तर मुक्तिधाम विकास समितिका अध्यक्ष हेम घिमिरेले जानकारी दिए ।