'बाल्यकालमा ल्हासा बसेका शी जिनपिङलाई तातोपानी नाका बारे थाहा छ'
प्रकाशित २०७५ चैत २७ बुधबार
653
Shares
काठमाडौं। नेकपाका स्थायी समिति सदस्यअग्निप्रसाद सापकोटाले भुकम्पका कारण बन्द रहेको तातोपानी नाका खुलाउन आफू सुरुदेखि नै लागिपरेको बताएका छन् । उनले भने,‘४६ महिना भयो, यो नाका बन्द भएको छ । अब यसलाई सुचारु गर्नुपर्छ ।’ तातोपानी नाका हरेक हिसावले बहुआयामिक महत्वको भएकोले यसलाई चाँडै सुचारु गराउन आफू लागिपरेको उनको भनाई थियो ।
सापकोटाले भने,‘तत्कालिन प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाँदा उहाँले चिनियाँ राष्ट्रपति शी जिनपिङसँगपनि यो नाका खुलाउनको लागि प्रयत्न गर्नुभएको थियो । त्यतिवेला चिनियाँ राष्ट्रपतिले यो नाकाको बारेमा विशेष चासो देखाउनुभएको थियो । किनकी उहाँ बाल्यकालमा ल्हासामा बस्नुभएको रहेछ । उहाँलाई तातोपानीको बारेमा थाहा रहेछ । उहाँले यसमा मेरोपनि भावना जोडिएको छ भनेर भन्नुभएको थियो ।’
नाका खोल्नको चीनतर्फबाट युद्धस्तरमा काम भैरहेको तर नेपालतर्फबाट भने सुस्त गतिमा काम भएको उनको गुनासो छ । हिजोमात्रै आफूहरु मन्त्रीसहितको टोली लिएर स्थलगत भ्रमणमा गएको पनि उनले सुनाए । चिनियाँ प्रतिनिधिहरुले पनि तोकिएकै समयमा नाका खुल्ने विश्वास दिलाएको उनले जनाए ।
उनले पार्टी एकता पनि चाँडै टुँगो लाग्ने विश्वास दिलाएका छन् । उनले भने,‘पार्टी एकता विलम्ब भएको छ । हुनै नहुने कुरा भयो । तल्लो तहसम्म एकता नहुँदा ठूलो नोक्शानी भएको छ ।’ अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैले पार्टी एकताको लागि विलम्ब भएको स्विकार गरेको पनि उनले सुनाए । आगामी बैशाख ९ गते लेनिन दिवस परेकोले त्यही दिन एकता टुँगो लाग्ने पनि उनले दाबी गरे ।