जीप दुर्घटनामा मृत्यु भएका प्रति कांग्रेसद्वारा दुःख व्यक्त, देउवाले भने- एक अथक योद्धा
प्रकाशित २०७५ चैत २८ बिहिबार
188
Shares
काठमाडौं । जीप दुर्घटनामा परी पूर्व जिल्ला सभापति एवं पूर्व सांसद रूद्रमणि शर्मा भण्डारी, ८ वर्षीय बालक ओश्कर वि.क. र प्रहरी हवलदार देवीप्रसाद पौडेलको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गरेको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति, गुल्मीका पूर्व सभापति, पूर्व सांसद एवं महाधिवेशन प्रतिनिधि ७२ वर्षीय रूद्रमणि शर्मा भण्डारीको बिहिबार विहान जीप दुर्घटनामा परी निधन भएको थियो । गुल्मीको दर्लिनबाट वुटवलतर्फ जादै गरेको लु १ ज १९५७ नं. को जीप मुसिकोट न.पा. १ को च्यानडाँडामा विहान करीब ७:३० बजे दुर्घटना भएको थियो ।
उक्त जीपमा सवार अन्य दुई जनाको समेत निधन भएको र ८ जना घाइते भएका छन् । गुल्मीको धुर्कोट गाउँपालिका वस्तु निवासी स्व. भण्डारी २०४८ सालको आमनिर्वाचनमा पार्टीको तर्फबाट गुल्मी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । भण्डारीले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँका दुई मती, एक छोरा र एक छोरी छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रूद्रमणि शर्मा भण्डारीको निधनप्रति दुःख व्यक्त गर्दै भनेका छन् “नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, गुल्मीका पूर्व सभापति एवं पूर्व सांसद तथा मेरा अनन्य मित्र रूद्रमणि शर्मा भण्डारीको असामयिक निधनको खबरले मलाई स्तब्ध र मर्माहत बनाएको छ । उहाँको निधनबाट पार्टीले एक कुशल नेतृत्वलाई गुमाएको छ र पार्टीलाई अपूरणीय क्षति पुगेको छ । स्वर्गीय भण्डारीले नेपाली कांग्रेसको संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गर्नु भएको सक्रिय भूमिका पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहनेछ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गर्दछु । साथै, सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।”