काठमाडौं । भक्तपुरमा बर्सेनि लाग्ने बोडे जात्रामा सोमबार बुद्धकृष्ण बागश्रेष्ठले सातौं पटक जिब्रो छेड्दै छन् । मध्यपुर थिमि नगरपालिका–८ बोडेमा मनाइने जिब्रो छेड्ने जात्राका यसवर्ष पनि स्थानीय बुद्धकृष्ण बागश्रेष्ठले जिब्रो छेड्ने भएका हुन् ।
प्रत्येक बर्ष वैशाख २ गते मनाइने यो जात्राका लागि, नेपाल–कोरिया मैत्री अस्पतालका एम्बुलेन्स चालक बागश्रेष्ठले सातौं पटक जिब्रो छेड्न लागेका हुन् ।
बोडेको वर्षौदेखिको परम्परालाई निरन्तरता दिन कसैले साहस नदेखाएपछि जिब्रो छेड्न आफै तयार भएको श्रेष्ठ बताउँछन् । २०६१ सालदेखि २०६४ सालसम्म र २०७४ सालदेखि भने श्रेष्ठले निरन्तरता दिँदै आएका छन् । बोडेकै जुजुभाई बागश्रेष्ठले २०६५ देखि २०७२ सालसम्म जिब्रो छेड्ेका थिए ।
कसरी शुरु भयो ?
यो जात्रामा पहिला राक्षसलाई जिब्रो छेडाएर सुरु गरिएको स्थानीयको भनाइ छ । निलबाराही जंगलको दायाँ बस्ने द्वारपालले खेतैखेत भएको देश अर्थात् अहिलेको बोडेमा आएर दुः ख दिएको र त्यसलाई त्यहाँका बासिन्दाले समातेर कहिल्यै नफर्किने गरी गाउँबाट लखेटेको खुशीयालीमा जात्रा सुरु भएको जनविश्वास छ ।
द्वारपाललाई बोडेमा आएर ७ वर्षसम्म जिब्रो छेडाएर नगर परिक्रमा गर्ने वाचा गरी छोडिएको र ७ वर्षपछि भने यहीकै स्थानीयले बोडेको हितमा जिब्रो छेडाउँदै आएको कथन छ ।
सीयोको कथा
११ इन्चको नटुचा अर्थात सुइरो बोडेको लाकुछें टोलको एक घरमा एक महिनादेखि खाने तेलमा डुबाएर राखिएको छ । वैशाख २ गते त्यही नटुचा बुद्धकृष्णको जिब्रोमा छेडिन प्रयोग हुन्छ । लाकुछेंका नकर्मीहरु सयौं वर्षदेखि जात्राका लागि फलामे नटुचा बनाउँदै आइरहेका छन् ।
यसपटक ६१ वर्षे धर्मलाल नकर्मीले जिब्रो छेड्नका लागि नटुचा बनाएका छन् । २ दशकदेखि जात्राका लागि नटुचा बनाउँदै आएका नकर्मीको, यो पेशा पुख्र्यौली पेशा हो । बोडे पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले हजारौँ मानिसकै अगाडि जिब्रो छेड्ने परम्परा छ । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर वैशाख २ गते जिब्रो छेड्ने परम्परा छ ।
जिब्रो छेड्नका लागि खोइ नयाँ मान्छे ?
बोडेलाई चिनाउने यो जात्रालाई सिमित व्यक्तिहरुले व्यक्तिगत रुपमा निरन्तरता दिँदै आएका छन् । बोडेमा जिब्रो छेड्ने र छेडाउनका लागि नयाँले साहस देखाउन सकेका छैनन् । समस्या जिब्रो छेड्ने मान्छेको मात्रै होइन, हाल बोडेमा कमी नायः (जिब्रो छेडाइदिने व्यक्ति) नै छैनन् । दुवैको अभाव छ ।
त्यसैले यस बर्ष बुद्धकृष्ण दाजुभाइले पालैपालो जिब्रो छेडाउने काम गर्दै आएका छन् । यतिबेला बुद्धकृष्ण बागश्रेष्ठले जिब्रो छेड्ने र उनकै दाजु कृष्णचन्द्र बाग श्रेष्ठले जिब्रो छेडिदिने काम गर्दै आएका छन ।
पहिलाभन्दा बोडेको जात्रा हेर्ने मानिसको संख्या बढ्दैछ। तर जात्रा र परम्परालाई निरन्तरता दिनेको कमी छ । जिब्रो छेडाउने निकै साहसको कार्य हो, जसलाई निरन्तरता दिन अर्को हिरो देखा परेका छैनन् ।