बनेपा। काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाको वडा नं १ आरुबोटेस्थित हिजो बेलुका ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार महाभारत गाउँपालिका वडा नं १ आरुबोटेस्थित गोकुलेबाट आरुबोटेतर्फ जाँदै गरेको ना३त ९१०३ नंको ट्र्याक्टरमा पछाडि सवार सोही ठाउँ बस्ने वर्ष ३५ को लालमान जिम्बा पछाडिबाट खस्न गई ट्र्याक्टरको चक्काले ढाडमा किच्दा घाइते भएको र तत्कालै उपचारका लागि स्थानीय मेडिकलमा पठाएकामा उपचारका क्रममा मृत्यु भएको हो। शव सोही मेडिकलमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपक गिरीले दिए।
यसैबीच आज बिहान काभ्रेपलाञ्चोकको कोशीपारिस्थित भुम्लु गाउँपालिका वडा नं ८ भुम्लुटारस्थित मादनकुँडारीबाट काठमाडौँतर्फ जाँदै गरेको बा४ख १३८३ नंको यात्रुबाहक बस ब्रेक फेल भई भित्तामा ठोकिएर दुर्घटना हुँदा १५ जना घाइते भएको प्रहरीले जनाएको छ। बसमा ३५ जना सवार रहेका थिए।
घाइतेमध्ये केहीको स्थानीय मेडिकल र केहीको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचारपश्चात् घर फर्किसकेको छ भने गाडी चालक सिन्धुपाल्चोक जिल्लाको सिन्धुकोट बस्ने ३१ वर्षीया ईश्वर कार्कीको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।