रातो मच्छिन्द्रनाथलाई रथारोहण गरिँदै, २५ गतेदेखि रथयात्रा
प्रकाशित २०७६ वैशाख २२ आइतबार
428
Shares
काठमाडौं। वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मच्छिन्द्रनाथको आज रथारोहण गरिँदैछ। ललितपुरको पुल्चोकमा बनाइएको ३२ हात अग्लो रथमा आज रातो मच्छिन्द्रननाथलाई रथारोहण गराइदैछ। हरेक बर्षको बैशाख शुक्लपक्ष प्रतिपदाका दिन रातो मच्छिन्द्रनाथ लाई तःबहालस्थित मन्दिरबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा बिराजमान गराइन्छ।
आउने बुधबार मिननाथलाई ललितपुरकै टंगलमा निमार्ण गरिएको रथमा रथारोहण गराइन्छ। आज अपरान्ह रातो मन्छिन्द्रनाथलाई बाजागाजाका साथ तःबहालमा बिशेष पुजाआजा गरी पानेजुहरुले खटमा बोकेर पुल्चोक पुरयाएर रथमा बिराजमान गराएसँगै मुलुककै सबैभन्दा लामो रथजात्रा शुरु हुन्छ।
गएको चैत कृष्ण पक्ष प्रतिपदाका दिन महास्नान गरेपछि रातो मच्छिन्द्रनाथको दशकर्म बिधि न्वारन, पास्ने, ब्रतबन्ध, गुफा राख्नेदेखि सबै विधि पुरा गराइएको छ। रातो मच्छिन्द्रनाथलाई महिला र पुरुष दुवैको प्रतिकका रुपमा लिई दुवैलाई गरिने कर्म गराइन्छ। त्यस्तै नेम्कुलहरुले रातोमच्छिन्द्रनाथको रगंरोगन गर्ने र श्रृंगारका काम गरिसकेका छन्। चैत कृष्णपक्षदेखिनै शुरु गरिएको रथ निमार्णको काम पनि सम्पन्न हुदैछ।
आज मच्छिन्द्रनाथलाई रथारोहण गराएपछि यही २५ गते बुधबार रथयात्रा सुरु हुन्छ। पुल्चोकबाट गाबहालतर्फ तानिने भएको छ। पहिलो दिन गाबहाल हुँदै मंगलबजार, सुन्धारा, थापाहिटी, लगनखेल अनि जावलाखेल पुर्याइने चलन छ। बुधबार नै टंगलमा निर्माणाधिन रथमा मिननाथलाई रथारोहण गराइनेछ। करीब एक हजार ६०० वर्ष पुरानो मच्छिन्द्रनाथको जात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा लामो जात्रा हो। यो जात्रा दुई महीनासम्म मनाउने चलन छ।
प्राचीनकालमा नेपालमा पानीको हाहाकार भएपछि लिच्छविकालीन राजा नरेन्द्र देव, ललितपुरका ज्यापू र प्रसिद्ध तान्त्रिक बन्धुदत्त बज्राचार्यले भारतको कामारुपकामाक्षबाट मच्छिन्द्रनाथलाई नेपाल ल्याई वर्षा गराएको किंवदन्तीमा उल्लेख छ।
मच्छिन्द्रनाथको रथ सिंगाररपटार गर्ने र बलियो बनाउने बाह्र यँवालको टोलीले रथ बनाउने सम्पूर्ण काम गर्ने गरेको गुठी संस्थान ललितपुरले जनाएको छ। गएको चैत कृष्ण पक्ष प्रतिपदाका दिन ललितपुरको लगनखेलस्थित डबलीमा रातो मच्छिन्द्रनाथको महास्नान गराइएको थियो। त्यसै दिन टंगल टोलमा रहेको मिननाथलाई पनि मन्दिर परिसरमै रहेको डबलीमा महास्नान गराइएको थियो।