arrow

गृहमन्त्रीलाई प्रश्न : के सिंहदरबार नै अब असुरक्षित भएको हो ?

गृहमन्त्रीको मातहतबाट प्रधानमन्त्रीको पोल्टामा गएको गुप्तचर विभाग फेल 

logo
प्रकाशित २०७६ जेठ १२ आइतबार
bike-bomb.jpg

काठमाडौं । नेपालमा मूलतः दुईवटा गुप्तचर संस्थाहरु कार्यरत रहेका छन् । एउटा प्रधानमन्त्री कार्यालय अन्तर्गत् रहेको राष्ट्रिय अनुसन्धान विभाग र अर्काे नेपाली सेनाको गुप्तचर सम्बन्धी काम गर्ने निर्देशनालय । गुप्तचर विभागलाई जरैदेखि सक्रिय गराउने भन्दै गृहमन्त्रालय मातहतबाट खोसेर प्रधानमन्त्री कार्यालय मातहत लगिएको यो गुप्तचर विभागको असफलताका कारण आईतबार राजधानीको विभिन्न नौ स्थानहरुमा बम विस्फोटको प्रयास गरियो भने तीन ठाउँमा पड्किएको बमले राती १० बजेसम्म ४ जनाको ज्यान समेत गएको छ । यसमा प्रहरीले राती १० बजे दिएको जानकारी अनुसार ९ जना घाईते भएका छन् । 

झण्डै एक लाखको संख्यामा रहेको बर्दी सहितका सुरक्षाकर्मी र हजारौंको संख्यामा रहेका गुप्तचरहरुका बाबजुत पनि देशको मुटु मानिने सिंहदरबारको ५ सय मिटर आसपास घट्टेकुलोमा समेत बम पड्कियो । अन्यमा नागढुंगा बाहेक अरु सबै चक्रपथ भित्र नै आधा दर्जन भन्दा बढी बम भेटियो । अहिलेसम्म सो विस्फोटको बारेमा कुनैपनि समूहले जिम्मा लिएका छैनन् । यद्यपि प्रहरीले यो विप्लव समूहले गराएको हुनसक्ने आशंका गरेको छ । घट्टेकुलोमा भेटिएको विप्लवको पर्चाले पनि यसलाई पुष्टि गर्दछ । 

वार्ताको माध्यमबाट समस्याको समाधान गर्नुपर्नेमा प्रधानमन्त्री केपी ओलीको बालहठका कारण विद्रोही समूहमाथि दमनको नीति लिँदा आईतबार राजधानीमा नै ३ जनाको ज्यान गएको छ । सरकारले विद्रोही पक्षलाई वार्तामा ल्याउनुको साँटो उल्टै पेलेरै जाने नीति ल्याउँदा अनाहकमा ३ नेपालीले राजधानीको केन्द्रमा नै बम विस्फोटबाट ज्यान गुमाउनु परेको हो । यसबाट आम मानिसहरु त्रसित बन्न पुगेका छन् । 

गत फाल्गुन २८ गते सरकारले एक पटक पनि वार्तामा नबोलाई विप्लव समूहमाथि प्रतिबन्ध लगाउने र सो समूहले गर्ने सबै कार्यहरु अबैध घोषणा गरेको थियो । त्यसपछिका प्रधानमन्त्रीका विभिन्न भाषणहरुमा पनि उनी सो समूहलाई पेलेरै जाने पक्षमा देखिएका थिए । तर, उनले त्यतिबेला सोच्न सकेनन् कि कुनैपनि आतंक सिर्जना गर्ने समूहलाई जनताको माया हुँदैन । उनीहरु जनतामाथि त्रास देखाउनको लागि एक दुई जनाको हत्यालाई सामान्य मान्दछन् । जसरी माओवादी युद्धको समयमा तत्कालीन माओवादीहरुले पनि क्रान्तिमा एक दुईजना शहीद हुन्छन् भन्दै निर्दाेषमाथि समेत गोली चलाएका थिए । 

शान्ति सुरक्षाको भरपुर व्यवस्था गर्नको लागि भनेर राष्ट्रिय अनुसन्धानलाई आफ्नो मुठ्ठीमा ल्याउने प्रधानमन्त्री ओली र शान्ति सुरक्षाको जिम्मेवारी सम्हालेका गृहमन्त्री रामबहादुर थापामाथि आम मानिसले गर्नसक्ने एउटा गहकिलो प्रश्न खडा भएको छ के अब हाम्रो सिंहदरबार पनि असुरक्षित भएको हो ? हाम्रा १ लाख भन्दा बढी सुरक्षाकर्मीहरुले सिंहदरबारको आसपासमा समेत सुरक्षा दिन नसक्ने यति कमजोर सुरक्षा प्रणाली हामीहरुसँग छ ? यदि होईन भने राजधानीको जता त्यतै बम विस्फोटको योजना बन्दा समेत हाम्रा सुरक्षाकर्मी र गुप्तचरहरु केमा रमाईरहेका छन् ? 

आईतबार नै अनामनगर र सुकेधारा पछि काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा समेत बम विस्फोट भएको छ । जसमा दुई जना घाइते भएका छन् । सोही स्थानमा बम बोकेर मोटरसाईकलमा हिँडिरहेकाहरुको साथमा नै बम पड्किँदा उनीहरु घाईते भएका हुन् । यद्यपि कोटेश्वर, सातदोबाटो, ग्वार्को र लगनखेलमा भने बम नेपाली सेनाले निष्कृय पारेको छ । 

यसरी दिनदहाडै राजधानीको मुटुमा भएको बम विस्फोटको घटनाले सरकारको सुरक्षा संयन्त्र कमजोर भएको भान भएको छ । यस अघिका विभिन्न घटनालाई आत्मालोचना गर्नुको साँटो अरुलाई होच्याउँदै विभिन्न अभिव्यक्ति दिने प्रधानमन्त्रीको कमजोरीका कारण यस्तो घटना भएको हो भन्न सकिने अवस्था रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ