बम आतंकमा चारको मृत्यु आठ घाइते, तीन ठाउँमा विष्फोट
बन्द सफल बनाउन आतंक
प्रकाशित २०७६ जेठ १३ सोमबार
618
Shares
काठमाडौं । आइतबार राजधानीमा भएको श्रृंखलावद्ध विष्फोटमा चार जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले गराएको शृङ्खलाबद्ध बम विस्फोट तीन ठाउँमा भएको थियो ।
सुकेधारा, घट्टेकुलो र थानकोटमा भएको बम विस्फोटमा चार जनाको मृत्यु हुँदा विस्फोटमा परी आठजना घाइते भएका छन् । सुकेघारास्थित एक शैलुन र घट्टेकुलोस्थित एक घरको कोठामा बिस्फोट भएको थियो भने थानकोट (चन्द्रगिरी नगरपालिका–३ ) इँटाभट्टा चोकमा बम विस्फोट भएको थियो ।
तीन वटै घटनामा विप्लव समूहको संलग्नता भेटिएको प्रहरीले जनाएको छ । सुकेधारा र घट्टेकुलोमा बम बनाउने क्रममै विस्फोट भएको थियो ।
सुकेधारा घटनामा तीन जनाको मृत्यु हुँदा पाँच जना घाइते भएका छन् । घट्टेकुलोमा एक जनाको मृत्यु हुँदा एक जना घाइते भएका छन् । त्यस्तै थानकोटमा दुई जना घाइते भएका छन् ।
सुकेधारामा नेवाः मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जनसहित ६ जनाको समूह बम बनाउन सक्रिय थियो । घटनास्थलमै मृत्यु भएका एक जनाको शव क्षतविक्षत भएको थियो ।
दुई जनाको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । महर्जन घाइते छन् ।
घट्टेकुलोमा भएको विस्फोटमा प्रज्वल शाहीको मृत्यु भएको छ भने रविन केसी घाइते छन् । केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । केसी त्रिचन्द्र कलेजका इकाई सभापति हुन् ।
यस्तै थानकोटमा प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा दुई जना घाइते भएका हुन् ।
ठाउँठाउँमा बम राखेर आतंक
तीन ठाउँमा विष्फोट हुँदा लगनखेल, ग्वार्को, सातदोबाटो लगायतका स्थानमा पनि शंकास्पद वस्तु भेटिएको थियो । यसले रातभरि नै आतंक मच्याएको थियो । कहाँ के हुने हो भनी त्रासमा स्थानिय थिए ।
ग्वार्कोमा प्रेसर कुकर बम फेला परेपछि सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ। लगनखेलमा भेटिएको शंकास्पद बस्नु भने बम नभएको प्रहरीले जनाएको छ।
कोटेश्वर नरेफाँटबाट भने प्रहरीले चारवटा प्रेसर कुकरसहित विप्लवका सात जना कार्यकर्तालाई पक्राउ गरेको थियो ।
बन्द सफल बनाउन आतंक
सोमबार विप्लव समूहले नेपाल बन्दको आव्हान गरेको छ । घट्टेकुलो विस्फोटमा विप्लवको पार्टीको पर्चा र पम्प्लेट भेटिएको थियो । पर्चामा ‘नेपाल बन्द सफल पारौं’ भनेर लेखिएको थियो ।