नेपाली सेनाका जवान अपहरणको खबरले विप्लव नेकपा भित्रै खैलाबैला
जवान सुरेन्द्र शाहीलाई अपहरण गरिएको हो : नेपाली सेना, विप्लव भन्छन् : दमनका लागि उक्साउने प्रपञ्च
प्रकाशित २०७६ जेठ १३ सोमबार
1.2k
Shares
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नो कार्यकर्ताले जाजारकोटमा सैनिक जवान अपहरण गरेको भन्ने खबरप्रति आपत्ति जनाएको छ। आइतबार विज्ञप्ति जारी गर्दै विप्लवले समाचारप्रति घोर आपत्ति रहेको बताएका हुन्। विप्लवले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त समाचार पूर्णरुपले कपोलकल्पित, भ्रामक हुनका साथै हाम्रो पार्टी र हामीले सञ्चालन गरेको जनताको संघर्षद्वारा अत्तालिएको यो फासीवादी सत्ताको षड्यन्त्र बाहेक अरु केही नरहेको स्पष्ट पार्न चाहान्छौं। मुख्य कुरा हाम्रो पार्टीको सुरक्षा निकाय वा व्यक्तिलाई अपहरण गर्ने कुनै नीति र योजना नै छैन।’
राष्ट्रिय स्तरको अखबारमा यस्तो समाचार आउनु आफैमा दुःखद रहेको उल्लेख गर्दै विज्ञप्तमिा हाम्रो पार्टी र सुरक्षा निकायका बीचमा भ्रम सिर्जना गरी दमन गर्न उक्साउने नियतले प्रायोजन गरिएको आरोप समेत लगाइएको छ।
कुरा यस्तो
अपहरण र जबरजस्ती चन्दा संलकनको पार्टी नीति नभएको जिकिर गर्दै आएको प्रतिबन्धित विप्लव नेकपाले, चन्दाकै लागि जाजरकोटमा सैनिक जवान अपहरण गरेको खबर सार्वजनिक भएपछि, पार्टीभित्र खैलाबैला मच्चिएको छ। बिदा मनाउन जाजरकोटको जुनीचाँदे घर गएको बेला वैशाख १६ गते रुपन्देही सैनामैनाको श्री नम्बर २ तालिम गणमा तालिमरत सैनिक जवान सुरेन्द्र बहादुर शाहीलाई विप्लवका कार्यकर्ताले अपहरण गरेको खबर सार्वजनिक भएपछि, प्रतिबन्धित नेकपाभित्र खैलाबैला मच्चिएको हो। खबर पाए लगत्तै नेकपाको हेडक्वार्टरले, जिल्ला इकाइलाई ताकेता गरेर सोधपुछ गर्यो।
आइतबार यस्तो खबर बाहिर आएपछि, जाजरकोटका नेकपा इन्चार्जले जिल्लाका काँग्रेस नेताहरुलाई एकपछि अर्को गरी फोन गरे। जुनीचाँदेको छिमकी बारेकोट गाउँपालिकाका महेन्द्र बहादुर शाहलाई बिहान नचिनेको नम्बरबाट फोन आयो। जुनीचाँदे २ मा तपाईको पार्टीका मान्छे हामीले अपहरण गरेको भन्ने खबर आएछ। ती मान्छे तपाईंको पार्टीका मान्छे हुन् भन्ने छ। को हो, तिनीहरुको नाम ठेगाना, नम्बर दिनु पर्यो।
हामीलाई हेडक्वार्टरले सोधेर हैरान पारेको छ। ती मान्छे थिए, जाजरकोटका विप्लव नेकपा इन्चार्ज प्रेमप्रकाश वली ‘धमिल’। पार्टीको नीतिमै नभएको कुरा कसरी यो खबर आयो भन्दै रन्थनिएका धमिलसँग हामीले पनि कुरा गर्यौं। उनले भने, यो कपोल कल्पित र भ्रामक समाचार हो।
हामीले जाजरकोटमा अहिलेसम्म कसैलाई अपरहण गरेको छैन, कुनै नीति नै छैन। तपाईं पत्रकारहरु जे पायो त्यही समाचार लेखिदिने। उनले आपत्ति जनाए। कुरो के हो, त्यही भनिदिनुस् न त। हामीले अनुरोध गर्दा उनले भने, यो सबै हाम्रो पार्टीलाई बदनाम गराउने षडयन्त्र हो, यसमा कुनै सत्यता छैन।
यही विषयमा हामीले जुनीचाँदे गाउँ पालिकाकि उपाध्यक्ष शिवा आचार्यलाई सोध्दा उनले पनि आज आइतबार मात्रै यो विषयबारे थाहा पाएपछि सोधखोज गर्दा अपहरणबारे कुनै जानकारी नपाएको बताइन्। सार्वजनिक खबर अनुसार, जुनीचाँदे २ का वडाअध्यक्ष बीर बहादुर शाहीका छोरा सैनिक जवान सुरेन्द्रलाई घरैबाट उठाएर लगिएको थियो। उनी वडा २ मा काँग्रेसबाट विजयी वडाअध्यक्ष भनिएको थियो।
विप्लबका जिल्ला इन्चार्ज धमिलले, वडा २ का अध्यक्ष पूर्व एमालेबाट विजयी राम बहादुर नेपाली हुन् र उनका ८ वर्षका छोरा छन्, कसरी अपहरण गर्नु भने। हामीले वडाअध्यक्ष नेपालीलाई फोन गर्दा शुरुमा उनले सोधे, के मलाई अपहरण गरेको भन्ने खबर हो र ? । उनले बीरबहादुर शाही वडा २ अध्यक्ष नभएर, वडा नम्बर ३ मा उठेर पराजित उम्मेदवार भएको र उनका छोरा सैनामैनामा तालिमरत रहेको तर उनी घर आएर अपहरणमा परेको भन्नेबारै गाउँमा कसैलाई थाहा नभएको बताए।
बीरबहादुरकै घर छेउकी स्थानीय कालिका प्राविकि वालशिक्षा शिक्षिका कालिका शाहीले पनि सुरेन्द्रलाई वैशाख ताका घर आएको बेला एकपटक देखेको तर अपहरण भएको भन्नेबारे कुनै जानकारी नभएको सुनाइन्। यही विषयलाई लिएर विप्लव नेकपाको हेडक्वार्टरले आपत्ति जनाउँदै विज्ञप्ती निकालेको छ।
के भन्छ नेपाली सेना?
जवान सुरेन्द्र शाही अपहरणबारे नेपाली सेनाले भने सत्य कुरा हो भनेको छ। नेपाली सेनाका सूचना अधिकारी, सहायक रथी विज्ञान देव पाण्डेले, आफ्ना जवान घर बिदामा जाजरकोट घर गएको बेला विप्लव समूहका मान्छेले अपहरण गरेको जानकारी दिए। उनका अनुसार करीब १ हप्ता बन्धक बनाइएका जवान शाही, उनीहरुको कब्जाबाट भागेर आएर घटनाबारे ब्यारेकमा जानकारी गराएका हुन्। साथै पाण्डेले, विप्लब समूहले जवान शाहीका बाबुसँग विप्लव समूहले २ लाख रुपैयाँ चन्दा मागेको र नदिएपछि अपहरण गरेको जानकारी आफुहरुले पाएको पनि बताए। यो घटनालाई लिएर सैनिक हेडक्वार्टरको गम्भीर ध्यानाकर्षण भएको पनि उनले बताए।