प्रेस युनियनको २८ औं वार्षिकोत्सवः विशेष कार्यक्रम हुँदै, यस्तो छ इतिहास
प्रकाशित २०७६ जेठ १३ सोमबार
923
Shares
काठमाडौं । नेपाल प्रेस युनियनको २८ औं स्थापना दिवस सोमबार विविध कार्यक्रम गरी युनियनसंग आवद्ध संचारकर्मीहरुले मनाउँदै छन् ।
प्रेस युनियनको केन्द्रमा राजधानीको बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्डमा एक बिशेष कार्यक्रम गरी स्थापना दिवस मनाइने केन्द्रीय महासचिव अजयबाबु शिवाकोटीले जानकारी दिएका छन् ।
उनले बार्षिकोत्सव समारोहमा अगज्र पत्रकारहरुको समेत सहभागीता हुने जानकारी दिएका छन् । युनियनले आफ्नो जिल्लामा पनि विविध रचनात्मक कार्यक्रम गर्न आव्हान गरेको छ ।
काठमाडौंको कार्यक्रम दिउँसो ३ बजे सुरु हुनेछ ।
मुद्धा मिडिया काउन्सिल विधेयककै
यतिबेला प्रेस युनियन अगाडि सबैभन्दा ठूलो मुद्धा सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयकलाई रोक्नु नै रहेको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारले पत्रकारलाई समाचार लेखेबापत १० लाख रुपैयाँसम्म जरिवाना लिन सक्ने कार्वाही गर्न खोज्दैछ ।
यो विधेयकको बुँदाले खोज पत्रकारिता गर्न त रोक्ने नै छ आफूलाई मन नपर्ने वा सरकारको विरोध गर्ने जुनसुकै व्यक्तिलाई पनि कार्वाही गर्ने नियत सरकारले ल्याएको भन्दै विरोध भइरहेको छ ।
संचारकर्मीका नाममा सरकारले आफ्नो गतिविधिविरुद्ध लेख्न प्रतिवन्ध लगाएको बुझिने भन्दै नागरिकको सूचनाको हक समेत वञ्चित हुने भन्दै विरोध भइरहेको हो ।
यस्तो छ प्रेस युनियनको इतिहास
लोकतन्त्रवादी पत्रकारहरुको साझा संस्थाको रुपमा रहेको नेपाल प्रेस युनियनले आफ्नो स्थापनाको २८ औं स्थापना दिवस मनाउँदै छ । प्रेस युनियनको स्थापना ०४८ साल जेठ १३ गते भएकाले युनियनले हरेक वर्षको जेठ १३ मा स्थापना दिवस मनाउँदै आइएको छ ।
पछिल्लो समयमा युनियनले श्रमजिवी पत्रकारका पेशागत तथा भौतिक सुरक्षा लगायतका हक, हितका लागि क्रियाशिल हुँदै आएको छ । देशभर करिव आठ हजार पत्रकार युनियनमा आवद्ध छन् । नेपाल प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघ आइएफजेको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो ।
२०४८ साल जेठ १३ गतेका दिन प्रजातान्त्रिक पत्रकारहरुको भेलाले पेशागत प्रत्याभूति र एकताबद्ध तथा संगठित रुपमा अगाडि बढ्ने दृढ धारणा प्रतिबद्धता गर्दै नेपाल प्रेस युनियनको स्थापना गरेका थिए ।
श्रमजीवि पत्रकारहरुको हकहित संरक्षण पनि ट्रेड युनियन आन्दोलनले नै गर्न सक्छ भन्ने उद्धेश्यलले २०४८ साल जेठ १३ गते तत्कालीन प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरी नेपाल प्रेस युनियनको जन्म भएको हो ।
युनियनको स्थापनाकालमा जम्मा गुप्तासहित हरि अधिकारी, रमेश तुफान, राजेश ढुंगाना, श्रीसबल्लभ प्रधान, शोभाकर पराजुली, जगदीश घिमिरे, कन्हैयालाल केशरी, राजेश्वर नेपाली, हरिहरप्रसाद श्रेष्ठ, गणेशप्रसाद नेपाल, तारानाथ दाहाल, कृष्ण कँडेल, योगेश उपाध्याय, यादव थपलिया, रामचन्द्र उप्रेती र गणेशबल्लभ प्रधान गरी सत्र जना सदस्य रहेका थिए ।
उक्त तदर्थ समितिले २०४८ साल फागुन १५, १६ गते ललितपुरमा प्रथम महाधिवेशन सम्पन्न गरी युनियनको विधान २०४८ सहित हरि अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । सो कार्य समितिको महासचिवमा रमेश तुफान, कोषाध्यक्षमा उज्वल झा, सदस्यहरुमा तारा बराल, कन्हैयालाल केशरी, राजेश्वर नेपाली, शिरिष बल्लभ, जगदीश भट्टराई, बबिता बस्नेत, अच्युत वाग्ले, राजनराज तिमिल्सिना लगायत रहेका थिए ।
त्यसपछि २०५१ साल जेठ २७ र २८ गते पाल्पा जिल्लाको तानसेनमा यसको दोस्रो महाधिवेशन सम्पन्न भई रमेश तुफानको नेतृत्वमा कार्यसमिति चयन गरेको थियो । उक्त कार्य समितिमा उपाध्यक्ष राजेश्वर नेपाली, महासचिव भरत भुर्तेल, सचिव हरि लम्साल, कोषाध्यक्ष कुलचन्द्र वाग्ले, सदस्यहरुमा कन्यैयालाल केशरी, हर्ष सुब्बा, झपेन्द्र गैरे, माधव घिमिरे, माधव नेपाल, कृष्ण धारावासी र बिष्णुप्रसाद भुषाल निर्वाचित भएका थिए ।
तेस्रो महाधिवेशन पर्सा जिल्लाको वीरगञ्जमा २०५३ साल मंसिर २२ र २३ गते सम्पन्न भइ तारा बराललाई अध्यक्षमा चुनेको थियो । जुन कार्य समितिको उपाध्यक्षमा हरि लम्साल, महासचिवमा कुलचन्द्र वाग्ले, सचिवमा बेद प्रसाद खरेल, कोषाध्यक्षमा गेजा शर्मा वाग्ले, सदस्यहरुमा झपेन्द्र गैरे, मुरारी कुमार शर्मा, मनोज शाह, हिकमान विरही, शिवप्रसाद भट्टराई, गगांधर पराजुली, राजेन्द्रसिंह राठौर, बसन्त प्रकाश उपाध्याय र शंकर खरेल रहेका थिए।
नेपाल प्रेस युनियनको चौथो महाधिवेशन दाङ जिल्लाको घोराहीमा २०५५ साल माघ २४ र २५ गते आयोजना गरियो । तर उक्त महाधिवेशनमा निर्वाचन प्रक्रियाका क्रममा केही विवाद खडा भएपछि निर्वाचन स्थगन गरिएको थियो । पछि उक्त निर्वाचन २०५६ साल साउन ७ गते सुनसरीको इटहरीमा सम्पन्न भई कुलचन्द्र वाग्ले अध्यक्षमा निर्वाचित भए । सो कार्यसमितिको उपाध्यक्षमा मुरारीकुमार शर्मा, महासचिवमा तरुण पौडेल, सचिवमा झपेन्द्र गैरे चयन भए । साथै सो कार्यसमितिमा विकास क्षेत्र अनुसार पूर्वाञ्चलमा सञ्जय सन्तोषी राई, मध्यमाञ्चलमा रविकिरण कोइराला, पश्चिमाञ्चलमा हेमराज बराल र मध्यपश्चिममा राजेन्द्र सिंह राठौरलाई समन्वयका लागि संयोजकको जिम्मेवारी दिइएको थियो ।
सिराहाको लाहानमा २०६० साल असार १४ र १५ गते सम्पन्न युनियनको पाँचौं महाधिवेशनले मुरारीकुमार शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गर्यो । सो कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा केदार सुवेदी, उपाध्यक्षहरुमा मनमोहन स्वाँर, गोविन्द कोइराला, गंगाधर पराजुली, बेनीबहादुर कार्की र यम बराल, महासचिवमा समिरजङ्ग शाह, कोषाध्यक्षमा दामोदर प्रसाद दवाडी, सचिवमा चिन्तामणि दाहाल र सदस्यहरुमा संकेत कोइराला, रश्मी उपाध्याय, केशव सिग्देल, अनिल कुमार कर्ण, विजयसन्तोषी राई, राधा चालिसे, भारती उपाध्याय, किरण पोखरेल, जुनारबाबु बस्नेत, शितल कोइराला, उद्धब हमाल र सन्ध्या रेग्मी रहेका थिए ।
युनियनको छैटौं महाधिवेशन कास्कीको पोखरामा २०६४ साल भदौ २८ र २९ गते सम्पन्न भयो । महाधिवेशनबाट समिरजङ्ग शाहको अध्यक्षमा गठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दामोदरप्रसाद दवाडी, उपाध्यक्षहरुमा राधा चालिसे, भिष्मराज ओझा, युवराज श्रेष्ठ, सतिश चापागाईं, महेन्द्र श्रेष्ठ, नवराज लम्साल र शेखर रेग्मी, महासचिवमा विन्दुकान्त घिमिरे, सचिवमा शिव लम्साल, कोषाध्यक्षमा जुनारबाबु बस्नेत र सदस्यहरुमा सन्तोष न्यौपाने, प्रदीप चापागाईं, उत्तम हमाल, दामोदर भण्डारी, सन्तोष सुवेदी, अनिता विन्दु, शान्ता पौडेल, राजेश झा, हिरालाल विश्वकर्मा, मोहन वान्तवा, होम लम्साल, प्रकाशचन्द्र परियार, अजय बम, दीपेन्द्र चौहान, श्रीमति विष्णु शर्मा र लोकराज ढकाल रहेका थिए । यही कार्यकालमा सम्पन्न नेपाली कांग्रेस पार्टीको १२ औं महाधिवेशनदेखि युनियनलाई शुभेच्छुक संस्थाको नाताले ५ जना महाधिबेशन प्रतिनिधिको अधिकार प्रदान गरिएको थियो ।
त्यसैगरी युनियनको सातौं महाधिवेशन २०६७ साल चैत ६ र ७ गते सुनसरीको इटहरीमा भयो र सो महाधिबेशनले निर्बिरोधरुपमा किरण पोखरेलको नेतृत्वमा ५३ जनाको कार्यसमिति चयन गर्यो। सो समितिमा बरिष्ठ उपाध्यक्ष बद्री सिग्देल, प्रथम उपाध्यक्ष गंगाधर पराजुली, द्धित्तिय उपाध्यक्ष हेमन्त काफ्ले, महिला उपाध्यक्ष अनिता बिन्दु, महासचिव शिव लम्साल, उपमहासचिवद्धय बिजय संतोषी राई र बाला अधिकारी, सचिवद्धय सन्तोष न्यौपाने र भुवन भट्ट, कोषाध्यक्ष ईश्वरी ओझा, क्षेत्रीय संयोजकहरु भिष्मराज ओझा, युवराज श्रेष्ठ, रमेश पौडेल, होम लम्साल, दीपक आचार्य, शेखर रेग्मी, सदस्यहरु अजय बम, अजयबाबु शिवाकोटी, बिमल ज्ञवाली, चन्द्रशेखर अधिकारी, सरोज अधिकारी, पवन आचार्य, भूमि चापागाई, सुमन मिश्र, देबेन्द्र बर्मा, जनार्दन घिमिरे, मानबहादुर न्यौपाने, सलोजा दाहाल, सीता अधिकारी, रञ्जना पौडेल, जयप्रकाश गुप्ता, अनिल तिवारी, केबी राना, उमा थापामगर, प्रेम चुनारा, टेक बहादुर सार्की, इकवाल अहमद, टिएन जोशी, र अञ्चल संयोजकहरु सुरेश जोशी, मुकुन्द भण्डारी, कटक शाही, कलेन्द्र सेजुवाल, सुदिप गौतम, रामराज पोखरेल, दिपक गौतम, मिलन दनाई, लिलाराज खनाल, शिव देवकोटा, राममणी दाहाल, श्रीनारायण शाह, भत्तिविलास पोखरेल, लिलाबल्लभ घिमिरे, र कृष्ण हुमागाई रहेका थिए ।
युनियनका निवर्तमान बरिष्ठ उपाध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा रहेको बर्तमान कार्यसमिति भने २०७१ भदौ २१ देखि २३ गते सम्म भएको महाधिवेशनले गठन गरेको हो ।