विप्लवलाई देखाएर ओलीको संविधान फेर्ने तयारीः डा शशांक कोइराला
प्रकाशित २०७६ जेठ १४ मंगलबार
644
Shares
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले देशमा संविधान संशोधनको खतरा बढेको दाबी गरेका छन् ।
नेपाल प्रेस युनियनको २८औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा महामन्त्री डा कोइरालाले कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपालाई देखाएर संविधान फेर्ने खतरा देखा परेको बताए ।
नेकपा नेतृत्वको सरकारले संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपतीय प्रणालीमा जाने खतरा देखिएको कांग्रेस महामन्त्री डा कोइरालाले बताए । ‘मलाई के लाग्छ भने यिनीहरुले विप्लवसँग वार्ता गर्छन्’, उनले भने, ‘वार्ता गरेर विप्लवलाई पनि ल्याउँछन् ।’
महामन्त्री डा कोइरालाले विप्लवलाई मूलधारमा ल्याउने बहानामा संविधान संशोधन गरेर संसदीय प्रणाली नै हटाउने खतरा बढेको बताए ।
‘एउटा खतरा कहाँनेर छ भने हाम्रो जुन संविधान छ, यसैलाई देखाएर, विप्लवलाई पनि ल्याउनुपर्यो त्यसैले संविधान संशोधन गर्नुपर्यो भन्ने अभिप्रायले हाम्रो संविधान नै संशोधन गरिदिने खतरा छ’, उनले भने ।