ओलीको दिल्ली भ्रमणको तालिका तय, उठाउलान् सार्कको मुद्दा ?
प्रकाशित २०७६ जेठ १४ मंगलबार
439
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ ग्रहणमा जानको लागि आकस्मिक भ्रमण तालिका तय गरेका छन् । विमिस्टेकका सदस्य राष्ट्रका राष्ट्र/सरकार प्रमुखहरुको उपस्थिति रहने सो बैठकमा ओली सामु सार्क संगठनको अस्तित्वको बारेमा समेत छलफल गर्नुपर्ने देखिएको छ। मोदीको जीत लगत्तै प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले पनि सार्कको अस्तित्व पुनरुत्थान हुनेमा आशा व्यक्त गरेकोले पनि यो भ्रमणमा समेत यस विषयमा कुराकानी हुनसक्ने सम्भावना देखिएको हो ।
चक्रिय पद्धति अनुसार अहिले सार्क संगठनको अध्यक्षता नेपालले गरिरहेको छ । २०१६ मा पाकिस्तानको इस्लामावादमा गर्ने तय भएको सार्क सम्मेलनमा भारत जान नमानेपछि अहिलेसम्म पनि नेपालले सो संगठनको नेतृत्व हस्तान्तरण गर्न सकिरहेको छैन । यसरी नेपालले अध्यक्षता गरिरहेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई अस्तित्वविहीन बनाएर भारत विमिस्टेकलाई बढी महत्व दिन चाहन्छ । उसको दुस्मनी पाकिस्तानसँग भएकोले पाकिस्तानलाई नसमेटिएको विमिस्टेकलाई नै बढी प्रभावकारी बनाउने तयारीमा भारत छ । तर, यसमा नेपालले दक्षिण एशियाको क्षेत्रीय विकासको लागि पनि सबै सार्क मुलुकहरुलाई समेटेर अघि बढ्नको लागि नेतृत्वदायी भूमिका खेल्नु पर्ने देखिन्छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालको सपथ ग्रहणको समयमा यसपाली विमिस्टेक राष्ट्रहरुलाई बोलाएका छन् । जबकी उनले पहिलो कार्यकालमा सार्क राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखहरुलाई निमन्त्रणा गरेका थिए । यसले पनि मोदी सरकार सार्क भन्दा विमिस्टेकलाई बढी महत्व दिन चाहन्छ भन्ने पुष्टि हुन्छ । यसरी भारतले पछिल्लो समय पाकिस्तान विनाको विमिस्टेकलाई प्राथमिकता दिएर सार्कलाई ओझेलमा पार्ने प्रयास गरेको बुझिएको छ । यसलाई अध्यक्ष राष्ट्रको हैसियतले दक्षिण एशियाली मुलुकहरुलाई एउटै मालामा उन्ने सार्कको अस्तित्व जोगाउने जिम्मा पनि नेपालकै काँधमा आएको छ ।
भारतको अघुवाईमा सन् १९९७ मा स्थापना भएको विमिस्टेकमा बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्याण्ड रहेका छन् । जसमध्ये नेपाल र भुटानले भने २००४ मा मात्रै पूर्ण सदस्यता लिएका थिए । सुरुमा भने यसमा ५ वटा मुलुक मात्रै सदस्य थिए । यिनै ७ देशहरुलाई मोदीले आफ्नो सपथग्रहणमा निम्ता दिएका छन् । यही निम्ता मान्नको लागि प्रधानमन्त्री ओली विहीबार दिल्ली जाने भएका छन् ।
मोदीले सार्कलाई महत्व नदिएर विमिस्टेकलाई मात्रै निमन्त्रणा दिएका कारण सार्कको अस्तित्वबारे छलफल गर्नको लागि ओलीले ठूलै हिम्मत जुटाउनु पर्ने परराष्ट्रविद्हरुको बुझाई छ । अध्यक्ष राष्ट्रको हैसियतले पनि दक्षिण एशियाको क्षेत्रीय विकासको लागि सार्कको अस्तित्व जोगाउने बारे आफूलाई हिम्मतिला सम्झने ओलीले यो विषयमा मोदीसँग डटेर कुरा गर्छन् भन्ने विश्वास पनि परराष्ट्र विदहरुले गर्ने गरेका छन् ।
बिहीबार दुई दिने भ्रमणका लागि ओली दिल्ली जाँदै
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार आफ्नो सपथग्रहणको लागि विमिस्टेक राष्ट्रका प्रमुखहरुलाई निम्ता दिएसँगै प्रधानमन्त्री ओलीले आकस्मिक दुई दिने भारत भ्रमणको कार्यतालिका तय गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार ओली बिहीबार दिल्ली जाने र शुक्रबार समकक्षी मोदीसँग भेट गरी शुक्रबार नै स्वदेश फर्किनेगरी कार्यतालिका तय गरेका छन् । १७ औं लोकसभामा भाजपा एक्लैको ३०३ र एनडीए गठबन्धनको ३५३ सिट प्राप्त भएपछि मोदीको शक्तिशाली दोस्रो कार्यकाल निश्चित भएको थियो ।