नेपाल भ्रमणमा विशेष सतर्कता अपनाउन अष्ट्रेलियाको निर्देशन
प्रकाशित २०७६ जेठ १४ मंगलबार
415
Shares
काठमाडौं । आइतबार राजधानमीमा भएको श्रृङ्खलाबद्ध बम आक्रमणपछि अस्ट्रेलियाले नेपाल भ्रमण गर्न आउने आफ्ना नागरिकहरुलाई सचेत गराएको छ । अष्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभागले आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्दा विशेष सजगता अपनाउन सुझाव दिएको हो । आइतवार काठमाडौंमा भएको तीन विष्फोटमा चार जनाको ज्यान गएको छ ।
अष्ट्रेलियाको सरकारले स्मार्ट ट्रभलर वेबसाइटमा पछिल्लो समय नेपालको सुरक्षा अवस्था बिग्रेको बताएको छ । तर, अझै पनि नेपाल सुरक्षाको हिसाबले लेभल–२ मा रहेको बताएको छ । अष्ट्रेलियाले यसरी सचेत गराउँदा ४ तहको सल्लाह जारी गर्ने गरेको छ । जसमा पहिलो तहमा सामान्य सुरक्षा सतर्कता अपनाउन सुझाव दिइन्छ, दोस्रो तहमा अत्यधिक सतर्कता अपनाउन भनिन्छ, तेस्रो तहमा भ्रमणमा पुनर्विचार गर्न नै निर्देशन दिइन्छ भने र चौथो तहमा भ्रमण नै रद्द गराइन्छ ।
अष्ट्रेलियामा लेभल–२ सुरक्षाको अवस्थालाई निकै सतर्क रहनुपर्ने अवस्था मानिन्छ । भ्रमणमा सुरक्षाका लागि अष्ट्रेलियामा चार अवस्था छ । यस अघि पनि अष्ट्रेलियाले दोस्रो तहकै एडवाइजरी जारी गरिरहेकोमा अहिले भने थप सतर्क रहन भनेको छ । यद्यपि तेस्रो तहको सुझाव भने दिएको छैन ।