arrow

तेञ्जिङ र हिलारीले सगरमाथा टेकेको ६६ वर्ष पुग्यो

logo
प्रकाशित २०७६ जेठ १४ मंगलबार
tenging-hillary1.jpg


काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा सफल आरोहण भएको ६६ वर्ष पुगेको छ । सगरमाथा शिखरमा पहिलो पटक दुई साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको अनुपम परिचय दिएका थिए । सोही समयदेखि संसारभरि सगरमाथाको आकर्षण बढ्दो छ ।

सगरमाथा आरोहण इतिहासको यो अवधिमा आठ हजारभन्दा बढी स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आरोहणका क्रममा हालसम्म २९० बढीको निधन भइसकेको बताइन्छ । आरोहणका नयाँ विश्व कीर्तिमान पनि कायम भएका छन् । सोलुखुम्बुकी स्व पासाङ ल्हामु शेर्पाले विसं २०५० वैशाख १० गते सगरमाथाको आरोहण गरी सगरमाथा चढ्ने प्रथम महिला आरोहीको कीर्तिमान कायम गरेका थिए । जापानी नागरिक स्व जुन्को तावेई विश्वकै पहिलो महिला सगरमाथा आरोही मानिन्छन् ।

पछिल्लो पटक कामिरिता शेर्पाले सगरमाथाको २४औँ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेकी छन् । उनले वसन्त ऋतुको यस याममा गत जेठ ७ गते आफ्नै २३ पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ रेकर्ड बनाएकी हुन् । उनले सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेकी थिइन् ।

कामिरितापछि हालसम्म आप्पा शेपा, ङिमानुरु शेर्पा र फुर्वाटासी शेर्पाले २१ पटक तथा आङदोर्जी शेर्पा, छेवाङङिमा शेर्पा १९ र मिङ्माछिरी शेर्पाको १९ पटक सगरमाथा आरोहणको कीर्तिमान छ । त्यस्तै लाक्पारिता शेर्पाले १७ र निमा गोम्बु शेर्पाले १६ पटक सगरमाथा आरोहण गरेकी छन् ।

पर्यटन विभागका अनुसार सन् २०१९ को वसन्तकालीन मौसममा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका ३८१ ले आरोहण अनुमति लिएका छन् । यस मौसममा सगरमाथासहितका ३२ हिमाल आरोहणका लागि ११६ आरोही समूहका ८९५ आरोहीले आरोहण अनुमति लिएका थिए । यस यामको सगरमाथा आरोहण गत वैशाख ३१ गते शुरु भएको थियो ।

यस पटकको सगरमाथा आरोहण आजबाट सकिएको विभागले जनाएको छ । यस याममा ६०० भन्दा बढीले सगरमाथा आरोहण गरेको  विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए । यो विभिन्न एजेन्सीमार्फत आएको विवरण हो । कति सङ्ख्यामा आरोहण भयो भन्नेबारे पुष्टि भइनसकेको विभागले जनाएको छ । सरकारले आरोहणका लागि हालसम्म ४१४ वटा हिमाल खुला गरेको छ । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये नेपालमा आठ छन् ।   

दुई साहसी आरोही शेर्पा र हिलारीले सगरमाथा आरोहण गरेको दिन (मे २९ तारिक) को स्मरणमा सरकारले हरेक वर्ष जेठ १५ लाई सगरमाथा दिवसका रुपमा मनाउने गरेको छ । आरोही हिलारीको सन् २००८ जनवरी ११ मा निधन भएको थियो । नोर्गेको सन् १९८६ मे ९ मा निधन भएको थियो । संयोग नेपालमा गणतन्त्र दिवस र सगरमाथा दिवस एकै दिन परेको छ ।

सगरमाथामा मानव पाइला पुगेको उक्त घटनाले विश्वभर नै ठूलो चर्चा पायो र नेपाललाई सगरमाथाको देश भनेर संसारभर चिनायो । मानिसले सगरमाथा र नेपालको परिचयलाई जोडेर हेर्नसमेत थाले ।

सोही ऐतिहासिक घटनाको स्मरण गर्दै मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ मनाउँदै आइएको छ । नेपालमा सन् २००८ मा साहसी आरोही हिलारीको निधन भएको सन्दर्भ पारेर यो दिवस मनाउन थालिएको हो ।

यसपटक १२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन लागिएको छ । दिवसलाई भव्य बनाउन पर्यटन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाको अध्यक्षतामा पर्यटन क्षेत्रका प्रतिनिधिमूलक संस्थासहितको ३७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । कार्यक्रमअनुसार बुधबार बिहान ठमेलबाट प्रभातफेरीपछि राष्ट्रिय सभागृहमा औपचारिक समारोह आयोजना गरिनेछ ।

समारोहमा हिलारीकी छोरी सारा हिलारीलगायत विदेशी पाहुनाको सहभागिता रहनेछ । सो अवसरमा ‘अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार’ र ‘तेञ्जिङ हिलारी पुरस्कार’ प्रदान गरिनेछ । यस पटक सगरमाथा हिमाल सफाइ अभियानमा खटिएका शेर्पा टोलीलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको नेपाल पर्वतारोहण सङ्घका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए।  

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले सगरमाथा राष्ट्रको गौरव भएकाले यसको प्रवद्र्धनका लागि सरकारले विशेष प्रथामिकता दिएको बताए ।

सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा पर्यटन क्षेत्रलाई महत्व दिएको सन्दर्भमा पनि सगरमाथाले आम मानिसको ध्यान केन्द्रित गरेको छ । सगरमाथाको शान र गौरवलाई चिरस्थायी बनाइराख्न वातावरण र पर्यावरणीय पक्षलाई ध्यान दिन जरुरी देखिएको सरोकारवालाले औँल्याउने गरेका छन् ।

पछिल्लो समय विश्व तापमान वृद्धिले जलवायु परिवर्तनको जोखिम बढेको र त्यसको प्रत्यक्ष असर हिमालमा परेको छ । हिमालहरु कालापत्थरमा परिणत हुने हुन् कि भन्ने चुनौती थपिएको छ । यसर्थ, समयमै विश्वको सम्पत्ति सगरमाथा संरक्षणका लागि जुट्न सरकारले विश्व समुदायलाई आह्वान गरिसकेको छ । सरकारी तथा निजी क्षेत्रको साझेदारीमा सगरमाथा सफाइ अभियान पनि यसै वर्ष शुरु गरिएको थियो । सगरमाथाको क्याम्प ४ सम्म पुगेर १० हजार ८२४ केजी फोहर सङ्कलन गरिएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ