श्रमिकको साथ पाए कांग्रेस पहिलो पार्टी – सुरेन्द्र पाण्डे
प्रकाशित २०७६ जेठ १५ बुधबार
944
Shares
ललितपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा विपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले आगामी निर्वाचनमा पहिलो पार्टी हुन श्रमिकको साथ हुनु पर्ने बताएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेस, ललितपुर जिल्ला समितिले श्रमिक जागरणका लागी आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो विचार व्यक्त गरेका हुन् ।
उनले नेपालको लोकतन्त्रको जग नै नेपाली श्रमिक आन्दोलन भएकोले श्रमिकहरुको साथ रहे कुनै पनि शक्तिले कांग्रेसलाई पराजित गर्न नसक्ने बताउँदै नेपाली कांग्रेसले शुरु गरेको जागरण अभियानमा सकृय भुमिका निर्वाह गर्न अपिल गरे ।
ललितपुर जिल्ला सभापति मदनबहादुर अमात्य, महासमिति सदस्य जितेन्द्रकुमार श्रेष्ठले लोकतन्त्रमा मात्र श्रमिक अधिकार सुनिश्चित हुने भएकोले सबै श्रमिकहरुलाई लोकतन्त्रको पक्षमा उभिन आग्रह गरे ।
ट्रेड युनियन कांग्रेस ललितपुरका अध्यक्ष कमलकुमार विष्टले ट्रेड युनियन कांग्रेस नै नेपालको लोकतान्त्रिक आन्दोलनको जननी रहेको बताउँदै लोकतन्त्र स्थापना पछि श्रमिकको योगदानलाई बिर्सिन थालेको आरोप लगाए ।
कार्यक्रममा ट्रेड युनियन कांग्रेस ललितपुरका विभिन्न २७ वटा आबद्ध संघहरुबाट श्रमिक नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।