समाजवादी पार्टीले सरकार नछाडेपछि राजपासँग एकीकरण रोकियो
यादवलाई पार्टीभित्रै चर्को दबाब
प्रकाशित २०७६ जेठ १५ बुधबार
854
Shares
काठमाडौं । नव गठित समाजवादी पार्टीले सरकार नछाडेपछि राष्ट्रिय जनता पार्टी नेपालसँग सुरु गरिएको एकीकरण प्रक्रिया रोकिएको छ । राजपाका नेताहरुले समाजवादी पार्टीले सरकार नछाडेसम्म सो पार्टीसँग एकीकरण प्रक्रिया अघि नबढ्ने शर्त राखेका छन् । समाजवादी पार्टीका नेताहरुले भने सरकार छाड्ने -नछाड्ने विषयलाई थाँती राखेर एकीकरण प्रक्रिया अघि बढाउदै जान आग्रह गरेका छन् ।
सरकार छाड्ने -नछाड्ने विषयमा एकीकरण पछि एकीकृत पाटीले निर्णय गर्ने बताउदै यस विषयलाई शर्त बनाएर एकीकरण प्रक्रिया नरोक्न राजपालाई समाजवादी पार्टीका नेताहरुले आग्रह गरेका छन् । तर राजपाले भने समाजवादी पार्टीले सरकार नछाडेसम्म उक्त पार्टीसँग एकीकरणको बारेमा औपचारिक अनैपचारिक कुनै किसिमको वार्ता नगर्ने अडान राख्दै आएको छ । राजपाका महासचिव केशव झाले भने,‘हामीले समाजवादी पार्टीका नेताहरुलाई प्रष्ट्रसँग भनेका छौ, समाजवादी पार्टीले सरकार नछाडेसम्म सो पार्टीसँग हाम्रो औपचारिक -अनौपचारिक कुनै किसिमको कुराकानी र छलफल हुँदैन ।’
तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीवीच पार्टी एकीकरण हुनु अघि तत्कालिन फोरमका अध्यक्ष उपेन्द्र यादवले राजपा र नयाँ शक्ति दुवै तीर एक साथ वार्ता अघि बढाएका थिए । त्यतीखेर दुवै पार्टीले तत्कालिन फोरमलाई सरकार छाड्न शर्त राखेका थिए । पछि यस विषयमा तत्कालिन नयाँ शक्ति लचिलो बन्यो भने राजपा आफनो अडानमा कायम रह्यो । नयाँ शक्तिसँग एकीकरण हुनु अघि नै तत्कालिन फोरमका अध्यक्ष यादवले राजपाका नेताहरूसँग दुइ -तीन चरण औपचारिक -अनौपचारिक छलफल गरेका थिए । यसैगरी तत्कालिन फोरम र राजपावीच ३-३ पटक औपचारिक रुपमा चिठि आदान प्रदान गरिएको थियो । एक अर्कोलाई पठाइएको चिठिमा पार्टी एकीकरणको बारेमा धेरै विषय अघि बढाइएको थियो ।
यता, तत्काल सरकार छाड्ने कि नछाड्ने भन्ने विषयमा नवगठित पार्टी समाजवादी पार्टीभित्र तीव्र विवाद उत्पन्न भएको छ । समाजवादी पार्टीभित्र तत्काल सरकार छाड्ने या नछाड्ने भन्नेमा करिब करिब आधा आधा मत रहेको छ । नयाँ शक्तिबाट समाजवादी पार्टीमा आएका अधिकांश नेताहरू तत्काल सरकार छाड्नुपर्ने पक्षमा छन् भने तत्कालीन संघीय फोरमका आधाजसो नेताहरु तत्काल सरकार छाड्ने पक्षमा आफ्नो चाहना देखाउदैनन् । खाशगरी सरकारमा रहेकाहरु मन्त्रीहरु स्वयम उपप्रधानमन्त्री उपेन्द्र यादव तत्काल सरकार छाड्ने पक्षमा नरहेको स्रोतको भनाइ छ ।
यादवको यस्तो चाहनाले नै समाजवादी पार्टीले सरकार छाड्ने दिन लम्बिरहेको पार्टीका एक पदाधिकारीले बताए । जव कि, नव गठित समाजवादी पार्टीका पहिलो अध्यक्ष बाबुराम भट्टराइ नव गठित पार्टीले तत्काल सरकार छाड्नु पर्ने अडानमा छन् । अहिले भट्टराइलाई यती अप्ठयारो परेको छ कि,समाजवादी पार्टी सरकारमा छ, तर उनी संसद्को प्रतिपक्ष वेञ्चमा बस्ने गरेका छन् । निर्वाचन आयोगबाट संघीय समाजवादी फोरम र नयाँ शक्तिवीच एकीकरण भएको औपचारिक जानकारी संसद सचिबालयलाई नआएकोले कानुनी रुपमा भट्टराइ प्रतिपक्ष वेञ्चमा बस्नु परेको भट्टराइ निकट नेताहरु बताउछन । तर आयोगबाट औपचारिक जानकारी आयो भने त्यतीखेर भट्टराइ नैतिक संकटमा पर्ने छन् ।
समाजवादी पार्टीले अहिले अहिले पार्टी एकीकरणको सन्देश कार्यकर्तासम्म पुर्याउन देशभर अभिमुखी कार्यक्रम सुरु गर्दैछ । उक्त कार्यक्रम जेठ २१ गतेसम्म चल्ने छ । अभिमुखीकरण कार्यक्रमपछि पार्टीभित्र आन्तरिक छलफल गरी अन्तिम एकपटक समय सिमा राखेर सरकारलाई अल्टिेमटम पत्र बुझाउने सम्भावना रहेको पार्टी स्रोतको भनाइ छ ।
स्रोतका अनुसार तत्कालिन फोरम र नयाँ शक्तिवीच एकीकरण हुँदा संविधान संशोधन लगायतका माग पूरा गर्न सरकारलाई अल्टिमेट दिने, अल्टिमेटपछि पनि सरकारले माग पूरा नगर सरकार छाड्ने सहमति भट्टराइ र यादववीच भएको थियो । जव कि, यस्तै किसिमको निर्णय नयाँ शक्तिसँग एकीकरण हुनु अघि तत्कालिन संघीय समाजवादी फोरमले गरेको थियो । त्यतीखेर फोरमका नेताहरु बालुबटार गइ संविधान संशोधन गर्न प्रधानमन्त्रीलाई स्मरण पत्र बुझाएका थिए । त्यसैले दुई पार्टी एकीकरण पछि समाजवादी पार्टीले गर्ने भनिएको यो निर्णय नयाँ होइन ।
त्यसो त सुरुमै तत्कालीन नयाँ शक्तिका संयोजक भट्टराईले पार्टी एकीकरण गर्न फोरमले सरकार छाड्नुपर्ने अडान राखेका थिए । तर पछि भट्टराई आफ्नो अडानबाट लचिलो हुँदै माग पूूरा गर्न अल्टिेमट दिने, अल्टिेम पनि माग पूरा नभए सरकार छाड्ने निर्णयमा सहमति जनाएका थिए । त्यसैले पार्टी्भित्र आफ्नो अजेन्डा लागू गराउन पनि उनी तत्काल सरकार छाड्नुपर्नेमा पक्षमा उभिएका छन् । पार्टी एकीकरण घोषणा कार्यक्रममा उनले कुनै पनि बेला एकीकृत पार्टीले सरकार छाड्ने बताएका थिए ।
प्रतिनिधिसभामा समाजवादी पार्टी नेपालको उपस्थिति १७ रहेको छ । जसमध्ये एकजना सांसद हरिनारायण रौनियार निलम्बित अवस्थामा छन् । समाजवादी पार्टीले सरकार छाडेमा वर्तमान सरकारले दुईतिहाइको समर्थन गुमाउने छ ।
पार्टी स्रोतका अनुसार तत्काल पार्टी छाड्न पाटी अध्यक्ष तथा उपप्रधानमन्त्री यादवलमाथि पार्टीभित्र चर्को दबाब बढेको छ । यस्तो दबाब उनले थेग्न सक्ने स्थिति नरहेको पार्टीका एक पदाधिकरी बताउछन् । उनी भन्छन,यादवको भित्री चाहना तत्काल सरकार छाड्ने पक्षमा नरहे पनि उनलाई यती दबाब बढेको छ कि कुनै पनि बेला सरकार छाड्ने निर्णय गर्नु पर्ने बाध्यता यादवलाई छ । स्वयम पार्टी उपाध्यक्ष रेणु यादव पार्टीले तत्काल सरकार छाड्नु पर्ने मतको अगुवाई गर्दै आएकी छन् । यस अभियानलाई तत्कालिन फोरमका अन्य केही वरिष्ठ नेताहरुले पनि साथ दिएका छन् ।