मानसरोवर जाने पर्यटकको मृत्यु भएपछि हिल्सा नाकामा खटाइयो चिकित्सा टोली
प्रकाशित २०७६ जेठ १५ बुधबार
318
Shares
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले भारतीय पर्यटकको स्वास्थ्य समस्या दृष्टिगत गरी चिकित्सकको टोली हुम्लाको हिल्सा नाकामा खटाएको छ ।
मानसरोवर जाने पर्यटकको चाप बढेसँगै स्वास्थ्य समस्या न्यूनीकरण गर्न अस्पतालले सो नाकामा चिकित्सक खटाएको हो ।
लेक लाग्ने कारण पर्यटक बिरामी पर्न सक्ने भएकाले कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा विशेषज्ञ चिकित्सक डा सूर्यमान लिम्बूको नेतृत्वमा चार जनाको टोलीलाई अस्पतालले बिदाइ गर्यो ।
टोलीमा डा अविजित मिश्र, स्टाफ नर्स सावित्री केसी र अहेव नन्द खत्री छन् । “भारतीय पर्यटकको स्वास्थ्य समस्यालाई दृष्टिगत गर्दै कर्णाली प्रदेश सरकारले चिकित्सकको टोली पठाइदिन पत्राचार गरेको थियो,’ रजिष्ट्रार विश्वराज काफ्लेले भने, “पत्रअनुसार चार महीनासम्म बस्ने गरी टोली खटाइसकेका छौँ ।”
सोमबार रसुवा केरुङ नाका हुँदै मानसरोवर कैलाश दर्शन गरी फर्कने क्रममा हुम्लाको हिल्सा नाकामा भारत तामिलनाडुका ६३ वर्षीय रपुनाथ भेलुको लेक लागेर निधन भएको थियो ।
निजको शव हुम्ला सदरमुकामस्थित सिमकोट अस्पतालमा राखिएको छ । उनकी श्रीमती पनि साथमा छिन् । उनको दाहसंस्कार खार्पुनाथ दोभानमा गरिने प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले बताए।