arrow

मोदीलाई नेपाल भ्रमणको निम्तो

logo
प्रकाशित २०७६ जेठ १७ शुक्रबार
Oli-Modi.jpg

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन‍् । प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट बधाई सन्देश सुनाउँदै  प्रधानमन्त्री मोदीको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

शुक्रबार अपराह्न नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले नेपालको राजकीय भ्रमणका निम्ति भारतका राष्ट्रपतिलाई आमन्त्रण गरेको सन्देश पनि प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीमा प्रवाह गरे।

नेपाल र भारतका प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच  पारस्परिक सम्बन्धलाई गतिशील एवं सुदृढ तुल्याउन दुवै देशबाट विगतमा भएका प्रयासका साथै समसामयिक विषयमा विचारविमर्श गरेको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रधानमन्त्री ओलीले मोदीलाई भारतीय जनता पार्टी तथा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडिए)ले लोकसभा निर्वाचनमा हासिल गरेको शानदार सफलताका साथै दोस्रो कार्यकालका निम्ति प्रधानमन्त्री भएकामा हार्दिक बधाइ ज्ञापन गर्दै प्रधानमन्त्री मोदीको कार्यकालको सफलताको कामना गरे ।

भारत र नेपालको पारस्परिक लाभका खातिर सहयोगका सबै क्षेत्रमा साझेदारी अभिवृद्धि गर्दै आपसी सम्बन्धलाई अझ घनीभूत तुल्याउन नियमितरुपमा उच्चस्तरमा हुने भ्रमण महत्वपूर्ण हुनेमा दुवै देशका प्रधानमन्त्रीले मतैक्यता व्यक्त गरे । साथै आआफ्नो नेतृत्वमा नेपाल–भारत सम्बन्धमा भएको प्रगतिप्रति दुवै प्रधानमन्त्रीले प्रसन्नता प्रकट गरे।

शपथ समारोहमा सहभागी हुन प्राप्त आमन्त्रणलाई स्वीकार गरी नयाँदिल्लीको भ्रमण गरेकामा प्रधानमन्त्री ओलीप्रति प्रधानमन्त्री मोदीले आभार प्रकट गरे। प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका निम्ति गरेको निमन्त्रणालाई सहर्ष स्वीकार गरेको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ