दार्चुला । नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्र व्यास गाउँपालिका–१ छांगरुको सितापुलमा नेपाली सेनाको हेलिकप्टरमार्फत नेपाल प्रहरी पुर्याइएको छ । ६ महिना राज्यको उपस्थिति रहने छांगरु पुग्ने बाटो अवरुद्ध हुँदा पहिलो पटक हेलिकप्टरमार्फत सुरक्षाकर्मी पुर्याइएको हो ।
नेपाल, भारत र चीनको त्रिदेशीय नाका ब्यास गाउँपालिका–१ छाङ्गरु तिङ्करमा सुरक्षाकर्मीको उपस्थिति भएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत नेपाल प्रहरीलाई शुक्रबार सो नाकामा पुर्याइएको हो । नेपाली सेनाको एम आई १७ हेलिकप्टरमार्फत सीतापुल प्रहरीचौकीमा प्रहरी पुर्याइएको हो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक लोकेन्द्र पुजाराको नेतृत्वमा १४ सुरक्षाकर्मी सीतापुल पुर्याइएको प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए ।
त्रिदेशीय नाका छागरु र तिङ्करका स्थानीयवासीको बसाइँसराइ भए पनि सुरक्षाकर्मी नसरेको भन्दै गत साता समाचार प्रकाशित भएको थियो । नेपालतिर सडक नहुँदा माथि उक्लिन नसकेको प्रहरीलाई हेलिकप्टरमार्फत छाङ्गरुको सीतापुल पुर्याइएको छ । सीतापूलमा केही दिन बसेपछि आधा प्रहरी तिङ्कर चौकीमा सर्ने नायब उपरीक्षक शाहीले बताए । नेपालतिर हतियारसहित चौकी सार्न बाटोघाटो थिएन् । स्थानीयवासीले भारतीय बाटो भएर बसाइँ सरे पनि प्रहरीका लागि हतियार लिन समस्या थियो । सर्वसाधारणले छाङगरु तिङकर जान नेपाल र भारत दुवैतर्फबाट बहुयात्रा अनुमति बनाउनुपर्छ । सोही माध्यमबाट उनीहरु भारतीय बाटोको प्रयोग गरी गाउँ फर्किएका थिए ।
“स्थानीय भारतीय मार्ग भएर गाउँ गइसकेको अवस्थामा सुरक्षाकर्मीमाथि लैजान हेलिकप्टरबाहेकको विकल्प थिएन्”, प्रहरी नायब उपरीक्षक शाहीले भने, “सञ्चार माध्यममा समाचार प्रकाशित भइसकेपछि झन प्रहरी समयमै पुर्याउनुपर्ने बाध्यता थियो ।”
प्रहरीले हातहतियारसहितमाथि जाने अवस्था नभएपछि यही जेठ १ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले हेलिकप्टर माग गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सरकारले पहिलो पटक ब्यासको त्रिदेशीय क्षेत्र छाङगरु तिङकरका लागि हेलिकप्टर पठाएको हो । नेपालतिरको बाटो गतवर्ष गाउँपालिकाले आफ्नै लगानीमा बनाए पनि महाकाली नदीको डुबानमा परेपछि बाटो अवरुद्ध छ । भारतले सीमा क्षेत्रमा बनाइरहेको सडकका कारण नेपालतिरको बाटो पूर्ण रुपमा अवरुद्ध भएको हो ।
भारतले कालापानी जाने सडक महाकाली किनारै किनार निर्माण गरिरहेको छ । भारतले बनाइरहेको सडकमा प्रयोग गरिएको विस्फोटक पदार्थका कारण नदी थुनिन गई नेपालतिरको बाटो पूरै बगाएको स्थानीयवासीको भनाइ छ । ब्यास–२ तम्बाकुदेखि बुदिसम्मको क्षेत्रमा नेपालतिरको बाटो पूर्ण रुपमा अवरुद्ध छ । बाटो नहुँदा प्रहरीले आफ्नो रासन भारतीय बाटो भएर सीतापुल पुर्याएको हो । प्रहरीले हेलिकप्टरमार्फत हतियार, सञ्चार सेटलगायत प्रहरी जवान पुर्याएको हो । राज्यको उपस्थितिका नाममा प्रहरी मात्रै यो क्षेत्रमा हुने गरेको छ ।
यस्तै हेलिकप्टरमार्फत छाङगरु तिङकरको क्षेत्रमा प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्ट, प्रहरी नायब उपरीक्षक शाही, सशस्त्र प्रहरी नायब उपरीक्षक भीमचन्द, राष्ट्रिय अनुसन्धान अधिकृत हिरण्य कुँवर, दुर्गादल गुल्मका निमित्त गुल्मपति खड्कध्वज कार्की लगायतले यस क्षेत्रको अनुगमन गरेका छन् ।
हेलिकोप्टरमार्फत त्यस क्षेत्रको भूगोल प्रहरी बस्ने ठाउँ लगायतको बारेमा सामान्य जानकारी लिइएको प्रमुख जिल्ला अधिकारी बहादुर विष्टले बताए । हेलिकोप्टरमार्फत पहिलो पटक सुरक्षाकर्मी पुगेपछि स्थानीयमा समेत राज्यको उपस्थित भयो भन्ने आभास पाइएको उनले जानकारी दिए ।
ब्यास क्षेत्र उच्च भू–भागमा अवस्थित भएका कारण छमहीना मात्रै स्थानीयवासीको बसोवास हुन्छ । यहाँका स्थानीय खलङगाझरेसँगै सीतापुल प्रहरीचौकी ब्यासको दुम्लीङ झर्ने गर्छन् । यहाँ चार÷पाँच फिट हिउँ जम्ने गर्छ । प्रहरीले केही दिनअघि हतियार बिनाका प्रहरी दुम्लीङबाट सीतापुल पठाएको थियो । विगतमा यस क्षेत्रमा राज्यको उपस्थित नहुँदा चोरी शिकारी, आखेटोपहार ओसारपसार तथा नेपालतिरको जङ्गल भारतीय पक्षले फँडानी गर्ने गरेका घट्ना बेला बेलामा आउने गरेका थिए ।
यसअघी त्रिदेशीय सीमा नाकामा सुरक्षाकर्मी नपुगेको बिषयमा यस्तो समाचार प्रेसित गरेका थियौं ।
नेपाल, भारत र चीनको त्रिदेशीय नाका ब्यास गाउँपालिका–१ छागरु र तिङ्करका स्थानीयवासीको बसाइँसराइ भएसँगै उनीहरु गाउँ पुगिसकेका छन् । झण्डै एक सातासम्म भारतीय बाटो भएर उनीहरु गाउँ पुगेका हुन् । यहाँका स्थानीय भन्दा अगाडि पुग्नुपर्ने सुरक्षाकर्मी भने अझै पुग्नसकेका छैनन् ।
गत मङ्सिरमा स्थानीयवासीको खलङ्गा बसाइँ सरेपछि त्रिदेशीय नाका तिङ्कर र नेपाल–भारत जोड्ने सीमा सीतापुलमा रहेका प्रहरी अहिले पनि ब्यास–२ दुम्लीङमै छन् । छ महीना राज्यको उपस्थितिका रुपमा रहने नेपाल प्रहरीले छाङ्गरु र तिङ्कर उक्लिन सकेको छैन् । नेपाली सुरक्षाकर्मी छाङ्गरु र तिङ्कर पुग्न नेपालतिर बाटो छैन् । स्थानीयवासीले भारतीय अनुमति लिएर बाटो प्रयोग गरे पनि हतियारसहित जानुपर्ने प्रहरीले भारतीय बाटो प्रयोग गर्न सक्दैनन् ।
गतवर्ष गाउँपालिकाले आफ्नै लगानीमा छाङ्गरु र तिङ्कर जाने गोरेटो बाटो निर्माण गरेको थियो । तर भारतले सीमा क्षेत्रमा बनाइरहेको सडकका कारण नेपालतिरको बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ । भारतले कालापानी जाने सडक महाकाली किनारै किनार निर्माण गरिरहेको छ । “भारतले बनाइरहेको सडकमा प्रयोग गरिएको विष्फोटक पदार्थका कारण नदी थुनिन गई नेपालतिरको बाटो पूरै बगाएको हो”, गाउँपालिकाका अध्यक्ष दिलीपसिंह बुढाथोकीले भने, “घाँटी बगड क्षेत्रमा नेपालले निर्माण गरेको सडक भन्दा १५ फिटमाथि पानी पुगेको थियो ।”
ब्यास–२ तम्बाकुदेखि बुदिसम्मको क्षेत्रमा नेपालतिरको बाटो पूर्ण रुपमा अवरुद्ध छ । बाटो नभएकै कारण अहिले नेपाल प्रहरीले ब्यासको छाङ्गरु तथा तिङ्कर पूरै उक्लिन नपाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले बताए । उनका अनुसार केही प्रहरीलाई मात्रै सितापुल पठाइएको छ ।
प्रहरीले रासन हातहतियारसहित माथि जाने अवस्था नभएपछि यही जेठ १ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले हेलिकप्टर माग गर्ने निर्णय गरेको थियो। सितापुलमा सुरक्षाकर्मी पुर्याउन सदरमुकाम खलङ्गाबाट हेलिकप्टरमार्फत नेपाल प्रहरी पठाउने तयारी छ । नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षाकर्मी सितापुल लगिने बताइए पनि हेलिकप्टर आउन सकेको छैन । हेलिकप्टर आउन अझै चार पाँच दिन लाग्ने जानकारी आएको प्रहरी निरीक्षक बोहराले बताए ।
सशस्त्रको सुरक्षा पोष्ट राख्न केन्द्रबाटै ढिलाइ
त्रिदेशीय नाका रहेको तिङ्करमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट ९विओपी० राख्न जमीन व्यवस्थापनमा सरकारी तवरबाटै ढिलाइ भएको छ । छाङरुको गागास्थित सार्वजनिक जमीन सुरक्षा पोष्टका लागि उपलब्ध गराउनेबारे सरकारीस्तरबाटै ढिलाइ भएको हो ।
योवर्ष त्रिदेशीय सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति गराउने गरी तयारी गरिएको भए पनि जमीनको विषयमा केन्द्रबाट टुङ्गो लाग्न नसक्दा ढिलाइ भएको छ । गागामा विओपी (वर्डर आउट पोष्ट) स्थापनाका लागि जिल्लास्तरबाट दुई महीनाअघि जमीनको टुङ्गो लागेको हो । गत चैत ४ र ५ गतेको सुरक्षा समिति बैठकले जग्गा व्यवस्थापन गर्न सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिए ।
सरकारी जग्गा भाडामा उपलब्ध गराउने कार्यविधि २०७१ को व्यवस्थाअनुसार जिल्ला सिफारिस समितिले सिफारिस गरेको छ । जिल्ला मालपोत कार्यालयले गत चैत ६ गते टिप्पणी लेखेर सम्बन्धित विभाग तथा मन्त्रालयमा पठाइ सकिएको मालपोत कार्यालयका प्रमुख लक्ष्मीराज विष्टले बताए ।
मालपोत कार्यालयमार्फत भूमि व्यवस्थापन तथा अभिलेख विभाग हुँदै भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयमा पुगेको प्रस्ताव अहिलेसम्म टुङ्गो लाग्नसकेको छैन। भूमि व्यवस्था मन्त्रालयले गृह र वन तथा वातावरण मन्त्रालयको सहमति मागेको अनौपचारिक जानकारी प्राप्त भएको उनले जानकारी दिए । सदरमुकाम खलङ्गाबाट ८२ किलोमिटर टाढा गागा पर्दछ । उक्त क्षेत्रमा पहिलो पटक सशस्त्र प्रहरी राख्ने तयारी भएपछि स्थानीय समेत खुशी थिए। “राज्यको उपस्थिति अनिवार्य हुनुपर्छ”, गाउँपालिकाका अध्यक्ष बुढाथोकीले भने, “भारतले नेपालतिरको स्रोत दोहन गरिसकेको छ, त्यसको संरक्षणका लागि पनि सुरक्षाकर्मी आवश्यक छ ।”
गागास्थित कित्ता नम्बर ३५ को ११५ रोपनी तीन आना जमीनमध्ये सशस्त्र प्रहरीको पोष्ट स्थापनाका लागि १५ रोपनी जमीन उपलब्ध गराउने तयारी छ । अहिले प्रस्तावित जमीन पूरै खाली रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म नं ५० का गुल्मपति भीमबहादुर चन्दले बताए । सशस्त्र प्रहरीले हाल सदरमुकाम खलङ्गास्थित पुलघाट, चमेलिया जलविद्युत् आयोजना र सीमा क्षेत्रमा गस्ती गर्दै आइरहेको छ । सशस्त्रले ब्यासको गागा र लेकमको लालीमासमेत विओपी राख्ने तयारी गरेको छ । रासस