सरकार भ्रष्टाचारमा रमाएको भन्दै आएका नेकपा कार्यकर्तालाई जोशीले भित्र्याए कांग्रेसमा
प्रकाशित २०७६ जेठ १७ शुक्रबार
516
Shares
तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताकार्यकर्तालाई नेपाली कांग्रेसमा प्रवेश गराएका छन् ।
तनहुँको ऋषिङ्ग गाउँपालिका आयोजित नेपाली कांग्रेसको जागरण कार्यक्रममा जोशीले नेकपाका नेताकार्यकर्तालाई कांग्रेसमा भित्र्याएका हुन् ।
केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीले ऋषिङ्ग गाउँपालिका वडा नं ७ तल्लोछाप निवासी नेकपाका नेता नरबाहादुर सिप्लाङ्गी, जुठे थापा, कृष्णबहादुर थापा,मानसिं थापा, नरबहादुर थापा, हरिबहादुर थापा, चित्रसिं थापा, होमबहादुर आलेलाई पार्टी प्रवेश गराएका छन् । कांग्रेस प्रवेस गर्दै प्रवेशीले नेकपा भ्रष्टाचारमा रमाएको, प्रदेश सरकारसमेत लाचार भएको जनतालाई दुख दिन थालेको भन्दै कांग्रेस प्रवेश गरेको बताए ।
नवप्रवेशीलाई स्वागत गर्दै जोशीले अब सङ्गठनमा मिलेर गएर तनहुँ कांग्रेसको नेतृत्वमा समुन्नत गण्डकी बनाउनुपर्ने जोड दिए । उनले सबै कार्यकर्ता मिलेर सङ्गठन सुदृढीकरण गर्नुको विकल्प नरहेको बताए । उनले सरकारले वितरणमुखी बजेट ल्याएर विकासनिर्माणलाई सुस्त बनाउन खोजेको बताए ।
कार्यक्रममा संविधान सभासदस्य पूर्व सभापति ध्रुव वाग्ले ,तनहुँ कांग्रेसको का.वा सभापति जीतप्रकाश आले, संविधानसभा सदस्य झुलप्रसाद आले लगायतको उपस्थिति रहेको थियो ।