बाँके। समाजवादी पार्टी नेपालका अध्यक्षद्वय डा बाबुराम भट्टराई र उपेन्द्र यादवले संविधान संशोधन नभए आफूहरु सरकार छाडेर सडक आन्दोलनमा जाने बताएका छन्। पार्टीको प्रादेशिक अभिमुखीकरण कार्यक्रमलाई आज नेपालगञ्जमा सम्बोधन गर्दै अध्यक्षद्वयले विगतको सहमति कार्यान्वयनमा प्रधानमन्त्रीले उदासिनता देखाएको बताए।
सङ्घीय परिषद्का अध्यक्षसमेत रहेका डा भट्टराईले कम्युनिष्ट र काङ्ग्रेसको विकल्पका रूपमा समाजवादी पार्टी अगाडि बढेको बताउँदै सरकारसँग अहिलेसम्म भएका सम्झौता पालना गर्नुपर्ने धारणा राखे।
त्यस्तै अर्का अध्यक्ष एवम् उपप्रधानमन्त्री यादवले भने, “संविधान संशोधन गर्न प्रधानमन्त्रीले लिखित सम्झौता नै गर्नुभएको छ। तर उनीनै सम्झौताविपरीत अघि बढिरहेका छन्। हामी अन्तिमपटक उनलाई सम्झौता कार्यान्वयन गर्न आग्रह गर्छौ, त्यसो नभए सरकार छाडेर आन्दोलनमा जानुको विकल्प छैन।”
संविधान संशोधनसहितका माग राखेर सरकारलाई अल्टिमेटम दिने र माग पूरा नभए सरकार छाड्ने सहमति भएकाले तत्काल सहमति कार्यान्वयन गर्न यादवले माग गरे। अभिमुखीकरण कार्यक्रममा पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, उपाध्यक्षद्वय नवराज सुवेदी, पर्शुराम खापुङ, महासचिव गङ्गानारायण श्रेष्ठ, सचिव एवं शहरी विकासमन्त्री मो इश्तियाक राईलगायतले सङ्घीयताको जननी तराई–मधेस नै भएको दाबी गर्दै केही शक्तिहरु सङ्घीयता विघटन गर्ने दिशामा अघि बढेको धारणा राखे। कार्यक्रममा प्रदेश नं ५ का विभिन्न जिल्लाबाट अगुवा कार्यकर्ताको उपस्थिति थियो।