प्रधानमन्त्री ओलीले विदेशी भूमिबाट गरेको टिप्पणी देशकै अपमान बराबर – प्रदीप पौडेल
प्रकाशित २०७६ जेठ १९ आइतबार
288
Shares
धादिङ । नेपाली काग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिलाई विदेशी भूमिबाट नकारात्मक ढङ्गले टिप्पणी गर्नु देशको अपमान गर्नु भएको बताएका छन् ।
धादिङ क्षेत्र नम्बर १ को आयोजनामा भएको राष्ट्रिय जागरण अभियान अन्तर्गतको सभामा सम्बोधन गर्दै उनले भने, ‘नेपाली राजनीतिलाई तुच्छ ढङ्गबाट टिप्पणी गर्दैगर्दा उहाँलाई ख्याल हुनुपर्छ उहाँको भनाईलाई मान्ने हो भने यो राजनीतिलाई यस्तो बनाउने मुख्य पात्र उहाँ पनि हो।
सत्ताका लोभीहरू कहिल्यै इमान्दार हुँदैनन् भन्दै नेता पौडेलले कथनी र करनीमा ज्यादै अन्तर भएका केपी ओलीहरूका कारणले नेपाली राजनीतिमा विश्वासको संकट बढ्दो रहेको टिप्पणी गरे ।
उनले नयाँ संबिधान लागुभए पनि काम गर्ने तरिका नफेरिएको भन्दै सरकारको नेतृत्व गर्नेहरू सेवक होइन शासक बनेको बताए । केन्द्रदेखि वडासम्म कमिशन र भ्रष्टाचारको बिगबिगी भएको तितो यथार्थ सुनाउँदै नेता पौडेलले सबैतहका सरकारमा हुनेहरूको व्यवहारले संघीयताको बदनाम भएको बताए ।
समावेशीताको भावनामा गलत ढङ्गबाट प्रयोग भइरहेको भन्दै उनले कुनै पनि नयाँ काम सुरू नभएको बताए । राष्ट्रपतिदेखि सबै आफ्नै सुबिधाका बारेमा मात्रै चिन्तित भएको उल्लेख गर्दै नेता पौडेलले भनाइ र गराइमा कुनै तालमेल नभएको बताए । झुठको खेती गरेर देश समृद्ध नहुने उनको भनाइ छ ।
कार्यक्रम नेपाली काग्रेस धादिङ क्षेत्रीय नम्बर १ का सभापति कृष्ण रिजालको अध्यक्षतामा सम्पन्न भएको हो ।