गुल्मी । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकारको कलम बन्द गरेर सत्ता नसुध्रने बताएका छन् ।
प्रवक्ता शर्माले नेपाल तरुण दल गुल्मी र नेपाल विद्यार्थी संघ गुल्मीले आयोजना गरेको नेपाली कांग्रेसको जागरण अभियान अन्तर्गत यस्तो बताएका हुन् । उनले कांग्रेस कहिल्यै जितेर मात्तिने र हारेर आत्तिने पार्टी नभएको बताए।
शर्माले प्रेस स्वतन्त्रता कसैको कृपा नभएको भन्दै पत्रकारको कलम बन्द भए सरकार निरंकुश र अधिनायकवादी हुने उल्लेख गर्दै मिडिया काउन्सिल बिधेयेक ल्याएर पत्रकारको टाउकोमा तरबार झुण्डाएको बताए ।
कांग्रेस गुल्मीले राष्ट्रिय जागरण अभियान अन्तर्गत पहिलो चरण सम्पन्न गरेको जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले बताए । उनले आफ्ना संघसंगठनहरु मार्फत सबै स्थानीय तहमा फरकफरक विषयका कार्यक्रम गरिएको बताए । उनले यो अभियानले कांग्रेस कार्यकर्तामा नयाँ उत्साह थपेको उल्लेख गर्दै अब कांग्रेस आम नेपालीबाट टाढा रहन नसक्ने बताए ।