ओलीले मोदीलाई उपहार दिएको रुद्राक्षमा भोजपुरका व्यवसायीको गुनासो
व्यवसायीले भने- समन्वय गरेको भए दिङ्लाको अन्तर्राष्ट्रिय मान्यता प्राप्त माला पठाउथ्यौ
प्रकाशित २०७६ जेठ २१ मंगलबार
965
Shares
भोजपुर । रुद्राक्ष व्यवसायीहरुले अन्तराष्ट्रिय मान्यता प्राप्त रुद्राक्षलाई वेवास्था गर्दै पशुपतिमा २० रुपैयाँमा पाइने माला लगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लगाएको गुनासो गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई सपथ कार्यक्रममा जादा रुद्राक्ष उपहार दिएका थिए ।
सो माला न्यून गुणस्तरको भएको भन्दै राष्ट्रप्रमुखहरुलाई उपहार दिने वा लगाउन रुद्राक्ष दिदा दिङ्लामा उत्पादन भएको उच्च गुणस्तरको दिन आग्रह गरेका छन् । दिङ्लामा उत्पादीत रुद्राक्षको बजार भारतमा मात्रै ७० प्रतिशत भन्दा बढी रहेको छ ।
रुद्राक्ष व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष मनोज चापागाईले भोजपुरको उत्तरी दिङ्लामा उत्पादन हुने रुद्राक्ष अन्तराष्ट्रिय जगतमा मान्यता प्राप्त भएको बताए । उनले रुद्राक्ष उपहार दिदा सरकरले ध्यान पुर्याउनु पर्ने बताए । ‘हामीले प्रधानमन्त्रीलाई भनेका थियौं । किन्नु पर्दैन हामी अन्तर्राष्ट्रिय स्तरले मन पराएका उच्च गुणस्तरका रुद्राक्ष उपलब्ध गराउछौं ।’ तर, उहाँले २० रुपैयाँमा पाइने अत्यन्तै न्युन स्तरको माला उपहार दिनु भयो ।'
व्यवसायीहरुका अनुसार मोदीलाई दिएको रुद्राक्ष व्यवसायीहरुले किन्ने गरेका छैनन ।
धर्मिक हिसावले सबै एउटै हुन तर, गुणस्तर फरक
चापागाईका अनुसार रुद्राक्ष धार्मिक दृष्टिकोणले सबै एकै हुन । तर, दिङ्लामा उत्पादन भएका रुद्राक्ष मुल्यवान, चिल्ला र ठुला हुन्छन । व्यवसायीले केही दिनमा प्रधानमन्त्री ओलीको विदेश भ्रमण रहेकाले त्यहा जाँदा भने गुणस्तरीय रुद्राक्षको प्रयोग गर्न सुझाव दिएका छन् ।
देशको पहिचान भएकाले सरकारले चाहेमा निःशुल्क उपलब्ध गराउने चापागाईले बताए । रुद्राक्षको व्यापार भारत, चीन, इन्डोनेसिया लगायतका देशहरुमा बढी हुदै आएको छ । यसले क्रमश अन्य देशमा पनि आकर्षण बढाउदै लगेको अर्का व्यवसायी अगमसिह राईले बताए ।
मुल्य निर्धारण गर्न आवश्यक
चापागाईले रुद्राक्षको व्यापारमा कुनै कमि नआएको भन्दै यसलाई मुल्य निर्धारण गर्न पर्ने बताए । रुद्राक्षको व्यापार क्रमश बढ्दै गएको छ । माग पनि सोही अनुपातमा बढीरहेको छ । तर, यसको मुल्य निर्धारण भएको छैन उनले भने ।
मुल्य निर्धारण गरेको खण्डमा व्यवसायी र कृषकहरु सबैलाई राहत हुने उनको भनाई छ । ५ मुखे रुद्राक्षको मुल्य एउटाको दश रुपैयाँ देखि ३ लाख सम्म पर्छ । त्यसैले मुल्य निर्धारण आवश्यक छ । राज्यले यसको व्यापारीकरणमा सहजता ल्याउनु पर्ने चापागाईले बताए । भोजपुरमा मात्रै वर्षमा ४० करोड बढीको व्यापार हुदै आएको छ ।