४० वर्ष कम्युनिष्टको सेवा गरेका हुमागाई कांग्रेसमा प्रवेश, कम्युनिष्ट लालहरु दलाल भएको आरोप
पूर्व एमाले कार्यकर्ता हुमागाईको पार्टी परित्यागले नेकपा ललितपुरमा हलचल
प्रकाशित २०७६ जेठ २४ शुक्रबार
528
Shares
ललितपुर । ४० वर्षसम्म कम्युनिष्ट पार्टीको राजनीतिमा क्रियाशील बौद्धिक नेता रामकृष्ण हुमागाईले अहिलेका कम्युनिष्टहरुमा कम्युनिष्ट सिद्धान्त नरहेको वताए । शुक्रबार नेपाली काँग्रेसमा प्रवेश गरेका हुमागाईले भने, ‘ हिजो कम्युनिष्टहरु लाल थिए, आफू पनि लाल सलाम भन्दै कम्युनिष्टमा लागियो, तर अहिले लालहरु दलाल भए, त्यसकारण कम्युनिष्ट छोडेर काँग्रेसमा प्रवेश गरियो ।’
पूर्व नेकपा एमालेको सदस्य रहेका हुमागाईले ४० वर्ष आफूले कम्युनिष्ट राजनीतिमा योगदान गरेको वताए। उनले भने, ‘४० वर्षसम्म कम्युनिष्ट राजनीतिमा योगदान गरियो, अहिले कम्युनिष्ट भनिएको नेकपा दलालमा रुपान्तरण भयो, त्यसकारण म कम्युनिष्ट रहन सकिन।’ काँग्रेस राष्ट्रवादी पार्टी भएको भन्दै उनले भने, ‘हिजो हामी कम्युनिष्टमा राजनीति गर्दा काँग्रेसलाई चाम्रो भन्थ्यौं। काँग्रेस चाम्रो मात्रै हैन, राष्ट्रियता र नेपालीको हितका लागि राम्रो पनि छ ।’
नेता हुमागाई बौद्धिक राजनीतिज्ञ हुन्। डबल डिग्री गरिसकेका हुमागाई ललितपुरको दक्षिणी भेगको राजनीतिक सामाजिक क्षेत्रमा अत्यन्तै महत्त्वपूर्ण योगदान पुर्याएका नेता हुन् ।
२०४८ र २०५४ मा तत्कालीन बुखेल (हालको महाकाल गाउँपालिका वडा नं. १)को अध्यक्ष समेत भएर काम गरिसकेका हुमागाई दक्षिण ललितपुरमा विद्युत पुर्याउनका लागि पहल गर्ने नेतृत्वकर्ता समेत हुन् ।