काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली विदेश गएका बेलामा उनको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा वैचारिक द्धन्द्ध हुने गरेको छ ।
ओली अमेरिका गएदेखि थालिएको यो द्धन्द्धमय आरोप–प्रत्यारोपले पार्टीलाई नै उथलपुथल बनाउँदै आएको छ ।
ओली अमेरिका गएका बेलामा अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुएलाको पक्षमा बोल्दै अमेरिकालाई दिएको चेतावनीले उब्जिएको भागबण्डाले चरम रुप लिएको थियो ।
त्यसपछि भियतनाम गएका बेलामा त झनै विष्फोटको रुप लियो । अर्का अध्यक्ष प्रचण्ड सल्बलाए । उनले ओली र आफूबीच सरकार चलाउन आलोपालो सहमति भएको बताए ।
उनले खासमा भन्ने मनस्थिति त बनाएका थिएनन् । तर कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री एवं अध्यक्ष ओलीको बचाउ गर्दै ‘पाँच वर्षसम्म कसैले चाहँदैमा ओली नेतृत्व परिवर्तन नहुने’ बताएपछि प्रचण्ड आक्रामक बनेका हुन् ।
यसपटक पनि ईश्वर पोखरेलले कार्यबाहक प्रधानमन्त्रीको भूमिका निभाइरहेका छन् । प्रधानमन्त्री ओली युरोप भ्रमणमा छन् ।
उनी जेठ २५ देखि असार १ सम्म नै विदेशमा रहने भएका हुन् । स्वीट्जरल्याण्ड, फ्रान्स र बेलायतको भ्रमणमा गएका ओली फर्किने बेलासम्म फेरि पार्टीमा कुनै न कुनै तरंग आउने विगतका भ्रमणले देखाइसकेको छ ।
यसपटक ईश्वर पोखरेलले पहिले नै कुनै प्रतिक्रिया नदिने स्रोतले बताएको छ । स्रोत भन्छ –यस पटक उहाँ पर्ख र हेरको स्थितिबाट अगाडि बढ्नु हुनेछ ।
पोखरेल ओलीका एकमात्र भरपर्दा दाहिने हात हुन् । उनले नै ओलीको काँध थाप्दै आइरहेका छन् ।
तत्कालीन एमालेका अधिकांश शीर्ष नेताहरु बैरी भएर सचिवालय बैठकमा पेश हुँदा जहिले पनि ईश्वर पोखरेलले बचाउ गर्छन् ।
अरु नेताहरुले जनताको बहुदलीय जनवादलाई ‘डेट एक्सपायर्ड’ भएको नीति भनिरहँदा उनले कम्युनिष्टको असली नीति नै यही भएको भन्दै मदन भण्डारीको नीतिदेखि केपी ओलीको संरक्षण गरिरहेका हुन्छन् ।
यसअघिको भनाईले अलि विवाद नै ल्याएकाले यसपटक ईश्वर पोखरेलले पहिले केही पनि नबोल्ने मनस्थिति बनाएको स्रोत बताउँछ ।
जिल्लाका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोक्ने विषयमा सचिवालय बैठकमै सहमति नजुटेकाले ओलीले जिम्मेवारी नतोकी युरोप भ्रमणमा निस्कनु पर्यो ।
त्यसैले पनि माहोललाई थप नबिगार्ने गरी बोल्न ओलीले सुझाएको पनि पोखरेल निकट एक नेताले बताए ।
उनको भनाइ उद्धृत गर्दै स्रोत भन्छ –नेताहरुलाई फकाउनु पर्ने हुनाले अहिले चिढाउने कुनै भनाई नराख्ने सहमति भएको छ ।
ईश्वर पोखरेल त पर्ख र हेरको अवस्थामा होलान् तर प्रचण्डलाई बोल्नका लागि कसले छेकेको होला ।!?